राजनीति


वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका प्रमुखको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथानका प्रमुखको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

नेपालखबर
चैत २८, २०८१ बिहिबार १८:१२, विराटनगर

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषय अदालतले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। उपाध्यक्ष कार्यालयमा नै रहेको बेलामा वडा अध्यक्षलाई कार्यवाहक दिएर चीन भ्रमणमा हिँडेको विषय अदालतमा पुगेको थियो।

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको एकल इजलाशले  निवेदक ग्रामथान गाउँपालिकाकाका उपाध्यक्ष गुणावती देवी थारुले माग गरेअनुसार  ग्रामथान गाउँपालिका वडा अध्यक्ष ३ का  वडा अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएको विषय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो।  

अदालतले गाउँपालिकाका  अध्यक्ष माझी मिति २०८१ चैत २६ गतेबाट चीन भ्रमणमा गई फर्की नआउँदासम्म बहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने हुँदा प्रत्यर्थी अध्यक्ष नमोनारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.न. १९६९ चैत २५ गतेको पत्र  र सो सम्बद्ध निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनेको छ।  

अदालतले केही निर्देशित समेत दिएको छ। ‘उल्लेखित गरिएको कानुनी व्यवस्थाको आधारमा स्थानीय तहका निर्वाचित प्रतिनिधिले आफ्नो काम, कर्तव्य  र अधिकारको असल नियतले प्रयोग र पालना गर्नु पर्ने देखिन्छ, आदेशमा भनिएको छ, रिट निवेदक गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रहिरहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना भएको प्रथम दृष्टिबाट देखिँदा सुविधा सन्तुलन एवम् कानुनको उचित प्रयोगको दृष्टिकोणबाट निवेदन माग बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गर्नु पर्ने देखिन आयो।’ 

गाउँपालिकाका अध्यक्ष माझी नौ दिने चीन भ्रमणमा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका थिए।  अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा छ।  

उपाध्यक्षसँग सम्पर्क नभएको कारण देखाउँदै वडा अध्यक्ष भगतलाई कार्यवाहक दिएपछि उपाध्यक्ष थारु रिट निवेदन लिएर उच्च अदालत गएकी थिइन्। रिट निवेदन बमोजिमको आदेश जारी हुनु पर्ने आधार र कारणबारे प्रमाण सहित म्याद सूचना भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र विपक्षीलाई आफै वा आफ्नो कानुन व्यवसायी मार्फत लिखित जवाफ पेस गर्न अदालतले भनेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad