राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको काठमाडौँ केन्द्रित संघीयताविरुद्धको आन्दोलन समापन भएको छ।
पाँचदिनसम्म सञ्चालिन राजधानीकेन्द्रित आन्दोलनलाई बिहीबार काठमाडौँको कपनस्थित सुकुन्दा पार्टी प्यालेसको सभाहलमा कार्यक्रम गरी समापन गरेको हो।
समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयताविरुद्ध ठूलो जनमत तयार भएको बताए।
संघीयता नेपाली जनताको आवश्यकता र चाहना नभएको दोहोर्याउँदै केसीले भारतको दबाबमा संघीयताको भारी बोकाइएको दाबी गरे। उनले कांग्रेस र एमालेको चाहना संघीयता नभएपनि भारतको दबाब सामु नतमस्तक भएको आरोप लगाए।
‘संघीयता नेपालको आवश्यकता पनि होइन, चाहना पनि होइन, जनताले माग गरेका पनि होइनन्’ उनले भने, ‘कांग्रेस र एमालेले संघीयता चाहेका होइनन् तर इन्डियाको दबाब अगाडि नतमस्तक भए। र, स्वीकार गरेका हुन्।’

उनले २०६३ सालमा मधेश केन्द्रित दलहको दबाबमा अन्तरिम संविधानमा संघीयता थप गरेपछि आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको स्मरण गर्दै कोइरालाले निरिहता प्रकट गरेको सुनाए।
‘गिरिजाबाबु तपाईंले संघीयता हुन्छ त भन्नुभयो। कसरी पाल्नुहुन्छ त अब?’ आफूले कोइरालासँग सोधेको प्रश्न स्मरण गर्दै केसीले कोइरालालाई उदृत गर्दै भने, ‘३९ जना त मराइसक्यो तराईमा अझै कति मराउने हो? हुन्छ नभनेर के गर्ने त?’
स्मरणीय छ, मधेस आन्दोलन चलिरहँदा तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘भारतले चाहे मधेशको आन्दोलन एक सेकेन्डमा रोकिन्छ’ भनेर अभिव्यक्ति दिएका थिए।
केसीले थपे ‘नेपालको सार्वजनिक ऋण २७ खर्ब छ। आठवटा सरकार, आठवटा मन्त्रिमण्डल कसरी धानिन्छ? यस्तै अवस्था रहे देश कसरी रहन्छ?’ केसीले भने, ‘अहिले हामीलाई आफ्नो परिवार, सम्पत्ति ठूलो लागेको छ। देशै नरहँदा के होला? सिक्किमका मान्छेलाई के भयो? भुटानका नेपालीलाई के भयो? ल हेर्नुस् त।’
उनले राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन थालेपछि मधेशवादी दलहरूले फेरि मोर्चा बनाएको बताए।
हालै मधेश केन्द्रित सात दलले ‘संघीयता जोगाउन’ भन्दै मोर्चा बनाएका हुन्।
‘संघीयताका विरुद्ध नेपालमा जनमत तयार भयो, त्यही भएर तराईका जमिन्दारहरूले गठबन्धन गरेका छन्’ केसीले भने, ‘भारतले के भन्छ तराईका जमिन्दारहरूले गर्ने त्यही हो। माओवादीले दिनको तीनचोटी संघीयता हामीले ल्याएको भन्छ। त्यो सबै भारतलाई खुशी पारेर सत्तामा जानका लागि हो।’
अध्यक्ष केसीले शासकहरूले यही व्यवस्था अन्तर्गत जनतालाई दिन सक्ने सेवा सुविधा दिएको भए, भ्रष्टाचार नगरेको भए राजावादीहरूले यति छिटो टाउको उठाउने हिम्मत गर्ने थिएनन् भने।
उनले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति आपत्ति जनाउँदै जनताले लडेर ल्याएको गणतन्त्र कुनै पनि हालतमा गुम्न नदिने दृढता व्यक्त गरे।
फरक प्रशंगमा अध्यक्ष केसीले अमेरिकाले नेपालमा आफ्नो सेना राखेर चीनविरुद्ध लड्न चाहेको उल्लेख गर्दै सोही कारण नेपाललाई एमसीसीको भारी बोकाएको पनि उल्लेख गरे।

मौसमका कारण आन्दोलन दुई दिन छोट्टियो, सभाहलमा समापन
यसअघि शान्तिवाटिकामा गर्ने भनिएको समापन समारोह मौसमका कारण सभाहलमा गरिएको जनमोर्चाले जनाएको छ।
राजमोले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आन्दोलन सञ्चालन गरेको हो।
सो क्रममा पहिलो दिन शान्तिवाटिकामा जनसभा भएको थियो भने दोस्रो दिन चाबहिल र तेस्रो दिन (चैत २६ गते) माइतीघर मण्डलामा जनसभा गरेको थियो।
यस्तै, चौथो दिन (चैत २७ गते) भृकुटीमण्डपमा जनसभा गरेको थियो।त्यसक्रममा जुलुशसहित नगर परिक्रमा गरिएको थियो।
जनमोर्चाको कार्यक्रमप्रति जर्मन एमएलपीडीलगायत विदेशी भाइचारा पार्टीका प्रतिनिधिले समेत ऐक्यवद्धता जाहेर गरेका छन्।
राजमोले चैत २४ देखि ३० सम्म साताव्यापी आन्दोलन घोषणा गरेको भएपनि काठमाडौँमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर आज (चैत २८ गते) समापन गरेको हो।
संघीयताको सुरुदेखि नै विरोध गर्दै आएको जनमोर्चाले यसअघि २०६६ सालमा पनि १५ दिनसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो।
Shares

प्रतिक्रिया