राजनीति


रवि जेल गएको २ दिनपछि आज ‘नयाँ निर्णय’ गर्न सचिवालय बैठक राख्दै रास्वपा

रवि जेल गएको २ दिनपछि आज ‘नयाँ निर्णय’ गर्न सचिवालय बैठक राख्दै रास्वपा

फाइल तस्बिर : रास्वपा सचिवालय बैठक


नेपालखबर
चैत २७, २०८१ बुधबार ९:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) सचिवालय बैठक राख्दै छ। 

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा सभापति रवि लामिछाने जेल चलान भएको २ दिनपछि रास्वपाले सचिवालय बैठक राख्न लागेको हो।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामै राख्न आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने चैत २२ गते काठमाडौँस्थित निवासबाटै पक्राउ परेका थिए भने चैत २५ गते जिल्ला अदालत रुपन्देहीमा पेस गरी थुनुवा पुर्जी लिएर उनलाई कारागार चलान गरिएको हो। 

त्यसको २ दिनपछि आज चैत २७ गते रास्वपाले नयाँ निर्णय गर्न भनी सचिवालय बैठक राख्न लागेको हो। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।

बैठकका मुख्य विषयवस्तु अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम रहेको उनले जानकारी दिएका छन्। 

यस्तै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यबारे पनि नयाँ निर्णय लिन सकिने रास्वपा नेताहरूले बताएका छन्।

सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि यसअघि रुपन्देही जिल्ला अदालतको आदेशअनुसार गत माघ १३ गते १ करोड धरौटीमा रिहा भएका थिए। 

तर त्यही मुद्दामा छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश हुँदा रविलाई भने बाहिर राख्न नमिल्ने भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

त्यसमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यही चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै थुनामै पठाउन आदेश दिएलगत्तै रवि पक्राउ परेका हुन्। 

राति रविको घरमा पुगेका डीएसपीले ‘अन्तिम इच्छा’ सोधेपछि...(भिडिओ) 

चार दिनअघि चैत १८ गते मात्र रास्वपाले सभापतिको जिम्मेवारीमा फर्काएका रवि भोलिपल्ट १९ गते चितवनमा पार्टीको जनयात्रा कार्यक्रम उद्घाटन गर्ने तयारीमा थिए।

तर अघिल्लो दिन उनी पक्राउ परेपछि रास्वपाले मध्यरातमा सचिवालय बैठक राखेर फेरि उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापति तोक्दै कार्यक्रम नरोक्ने निर्णय गरेको थियो। 

रातभर काठमाडौँ  जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर रविलाई चैत १९ गते बिहानै हवाईजहाजबाट रुपन्देही पुर्‍याइएको थियो।

जसका कारण त्यस दनि चितवनमा गरिएको जनयात्रा कार्यक्रमको सुरुवात पनि उत्साहजनक हुन सकेन। 

नेतृत्वपंक्तिमै अन्योलका कारण आउँदो वैशाखमा गर्ने भनिएको अधिवेशन पनि अनिश्चयमा धकेलिएको छ।

यहीबीच रास्वपाले आज सचिवालय बैठक राख्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad