राजनीति


पाँच दिनमै डीपीमा फर्कियो रास्वपा नेतृत्वको जिम्मेवारी

पाँच दिनमै डीपीमा फर्कियो रास्वपा नेतृत्वको जिम्मेवारी

डोलप्रसाद (डीपी) अर्याल


नेपालखबर
चैत २३, २०८१ शनिबार ८:१७, काठमाडौँ

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत कात्तिक २ गते काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परे। रातारात उनलाई कास्की जिल्ला प्रहरी कार्यालयको हिरासत पुर्‍याइयो। 

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि उनलाई सभामुखले गत पुस ८ गते सांसद पदबाट निलम्बन गरे। 

त्यसयता रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दियो। 

तर सभापति रवि जिल्ला अदालत कास्कीको आदेशले गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर छुटे। 

यसपछि उनले काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि ६० लाख, रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड र चितवनको सहारा चितवन सहकारी ठगी मुद्दामा ५४ लाख धरौटी बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने आदेश पाए।

त्यसयता उनी ती अदालतमा तारेख धाइरहेका थिए। 

यसैबीच रास्वपाले यही चैत १८ गते मात्र डीपी अर्याललाई उपसभापतिमै सीमित राखेर रविलाई सभापतिको जिम्मेवारीमा फर्कायो।

तर त्यसको ५ दिनमै फेरि पार्टी नेतृत्वको जिम्मेवारी अर्यालको काँधमा आएको छ।  

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछाने त्यही राति पक्राउ परे। 

त्यसपछि मध्यराति आकस्मिक रूपमा बसेको रास्वपा सचिवालय बैठकले फेरि उपसभापति अर्याललाई नै कार्यवाहक सभापतिको जिम्मेवारीमा फर्काएको हो। 

रास्वपाको आकस्मिक सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज चैत २३ गते चितवनको भरतपुरमा जनयात्रा शुभारम्भ सभा पनि नरोक्ने निर्णय गरेको छ। 

उच्च अदालतबाट आदेश आएको २ घण्टामै शुक्रबार राति प्रहरीले घरमै पुगेर पक्राउ गरेपछि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएका रविलाई आज रुपन्देही जिल्ला प्रहरी कार्यालय लगिँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad