राजनीति


छविलाल जोशी अस्पताल भर्ना

छविलाल जोशी अस्पताल भर्ना

छविलाल जोशी। फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार १८:२१, काठमाडौँ

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी अस्पताल भर्ना भएका छन्। 

मंगलबार उनको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा (युसीएमएस) भर्ना गरिएको रुपन्देही कारागाारका जेलर सुरज भण्डारीले नेपालखबरलाई जानकारी दिए। 

पूर्वडीआईजी जोशी पहिल्यैदेखि बिरामी छन्। नियमित औषधि सेवन गर्दै आएका उनको स्वास्थ्यमा मंगलबार थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र केही दिन अस्पतालमै राख्नु पर्ने जेलर भण्डारीले बताए। 

उक्त कारागारमा जोशी माघ २८ गतेदेखि छन्। सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीले माघ २८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

जिल्ला न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए। आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न उनको माग थियो। तर गत शुक्रबार उच्च अदालत रुपन्देहीले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेको छ। 

त्यसअघि पोखराका सूर्यदर्शन सहकारीमा ८८ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा ५० लाख धरौटी बुझाएर रिहा भएका थिए। 

सुप्रिम सहकारी ठगीकै मुद्दामा जिल्लाबाट एक करोडी धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि उच्च अदालतले थुनामा पठाएको छ। लामिछाने सोमबारदेखि सोही कारागारमा छन्। तर उनीहरूलाई छुट्टा छुट्टै ब्लकमा राखिएको छ।

अब उच्च अदालतको आदेशविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा निवेदन दिन सक्छन्। सर्वोच्च अदालतले रिहा नगरे उनीहरू कम्तिमा फैसला नहुन्जेल कारागारमै बस्नु पर्नेछ।

जोशी र लामिछानेमाथि अन्य जिल्ला अदालतले गरेका आदेशविरुद्ध पनि उच्च अदालतमा निवेदन विचाराधीन छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad