ब्यांककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (२२ चैत्र) अपरान्ह ३ बजे नै तम्तयार अवस्थामा थियो। मोदीसँगको भेटमा प्रधानमन्त्री ओलीका साथ रहने नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको ‘कारकेड’ समेत मर्यादाक्रम अनुसार मिलाइ सकिएको थियो।
भारतीय प्रधानमन्त्री मोदी रहेको ब्यांककस्थित मण्डारिन ओरिएन्टल होटलतर्फ प्रस्थानका लागि साङ्ग्रिला होटलमा नेपाली प्रधानमन्त्रीसहितको कारकेड तयारी अवस्थामा रहेका बेला चिफ अफ प्रोटोकल (शिष्टाचार महापाल) विष्णु गौतममार्फत् भारतीय पक्षले खबर पठायो, ‘प्रधानमन्त्री मोदी प्रधानमन्त्री ओलीसँग वान–अन–वान भेटवार्ता गर्न चाहनुहुन्छ।’
स्रोतका अनुसार, भारतीय पक्षले करिब ४०–४५ मिनेटअघि मात्र प्रधानमन्त्री ओलीसँग एक्लाएक्लै भेटवार्ताको योजना बनाइएको सन्देश पठाएको थियो। ओली भने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, विकास तथा आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राईका साथ मण्डारिन होटल जाने तयारीमा थिए।
बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदीसँग भेटवार्ताका लागि नेपाली पक्ष पहिलेदेखि नै प्रयासरत थियो। तर मोदीसँग भेटवार्ताको समय उपलब्ध हुने–नहुनेमा प्रधानमन्त्री ओली नै विश्वस्त थिएनन्।
ब्यांकक प्रस्थान गर्नुभन्दा अघिल्लो दिन (१८ चैत्र) प्रतिनिधि सभामा सम्बोधनका क्रममा प्रम ओली आफैले अधिकांश अतिथिहरू २१ चैत्रमा ब्यांकक पुग्ने भएकाले समयको चापका कारण सबैसँग भेट हुने सम्भावना कम रहेको उल्लेख गरेका थिए।
नेपाली पक्षको अनुमानविपरीत ४० मिनेटअघि जुरेको प्रधानमन्त्रीद्वयको ४० मिनेट नै लामो वान–अन–वान भेटवार्तामा के कुराकानी भयो, सम्पूर्ण विषय सार्वजनिक भएका छैनन्।
तर, मोदी ओलीसँग के कुराकानी गर्न चाहन्थे, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) निकट एक भारतीय सञ्चारमाध्यमले सरकारी स्रोत उधृत गर्दै पहिले नै उल्लेख गरेको थियो।
ओली–मोदीबीच शुक्रबार अपरान्ह ४ बजे भेटवार्ता भयो। त्यसअघि नै स्वराज्य म्यागेजिनले ओलीलाई मोदीले नेपाल–भारत सीमाका बारेमा (ओलीको तर्फबाट) गरिएको ‘बयानबाजी’ अन्त्य गर्न र लिम्पियाधुरा–कालापानीसम्मको दाबी त्याग्न आग्रह गर्ने दाबी गरेको थियो। त्यस्तै, नेपाल–भारत सम्बन्धको दिशा कता जाने भन्ने कुरा ओलीको व्यवहारमा भर पर्ने पनि भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उधृत गर्दै सो सञ्चारमाध्यमले दाबी गरेको थियो।
मोदीसँगको भेटवार्तालगत्तै सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ओलीले मोदीलाई ‘मेरा प्रिय मित्र’ शब्दावली प्रयोग गरेका छन्। मोदीसँगको वार्ता अत्यन्त सार्थक र सकारात्मक भएको उल्लेख गर्दै ‘आत्मीय भेटवार्ता’ प्रति खुसी व्यक्त गरेका छन्।
मेरे प्रिय मित्र, प्रधानमंत्री श्री @narendramodi जी से आत्मीय भेंट हुई।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2025
हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही।
इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ। pic.twitter.com/v49J6qhXWV
मोदीले पनि ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको’ स्मरण गराउँदै ब्यांककमा ओलीसँग भएको भेटवार्ता फलदायी भएको दाबी एक्समा गरेका छन्।
मोदीले ओलीसँग उर्जा, कनेक्टिभिटी, संस्कृति, डिजिटल प्रविधि र बिम्स्टेक सम्मेलनबाट प्राप्त प्रमुख सकारात्मक परिणाम– विशेषगरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा कुराकानी भएको बताएका छन्।
बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर… pic.twitter.com/QjoP55jOfG
— Narendra Modi (@narendramodi) April 4, 2025
ओलीले मोदीप्रति ‘मेरा प्रिय मित्र’ भन्दै जुन सद्भाव दर्साएका छन्, ओलीका हकमा यस्तो सद्भाव र सम्मानयुक्त शब्दावली मोदीले प्रयोग गरेका छैनन्। बंगलादेशका अन्तरिम सरकारका प्रमुख (प्रधानमन्त्री) मोहम्मद युनुससँगको भेटवार्ता सम्बन्धी पोस्टमा पनि मोदीले सम्मानसूचक शब्द प्रयोग गरेका छैनन्।
तर, ओली–युनुसअघि मोदीले भेटवार्ता गरेका भूटानी प्रधानमन्त्री छिरिङ तोग्बेका हकमा भने ‘मेरा असल मित्र’ भन्ने शब्दावली प्रयोग गरेका छन्।
प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको तयारी गरिए पनि ओलीसँग मोदीले किन एक्लाएक्लै भेटवार्ता गर्न चाहे र भेटवार्ताका क्रममा उनीहरूबीच के कुराकानी भयो, त्यो अहिलेसम्म अस्पष्ट छ।
स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीसँगको भेटवार्ताबारे निकै थोरै बताएका छन्। विमानस्थलमा उनले बताएका मुख्य चार विषय हुन् :
एक, नेपालले आयोजना गर्ने सगरमाथा डाइलगमा युरोप भ्रमणमा हुने भएकाले मोदी आउन पाउनु हुन्न।
दुई, प्रधानमन्त्री मोदी नआएपनि भारतको तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुन्छ।
तीन, म पनि सगरमाथा संवादको तयारीमा लाग्नुपर्ने भएकाले निकै व्यस्त हुनेछु।
चार, मेरो फुर्सद मिल्यो भनेचाहिँ सगरमाथा संवाद (१६–१७ जेठ) अगावै पनि भारत भ्रमण हुनसक्छ।
भेटवार्ताबारे भारतीय र नेपाली दुवै पक्षबाट विस्तृत कुरा नआइरहेको सन्दर्भमा सोमबार (२५ चैत्र) प्रधानमन्त्री ओलीको एक ‘भूराजनीतिक सम्बोधन’ र ओली–मोदी भेटको तस्बिरमा देखिने शारीरिक हाउभाउले प्रधानमन्त्रीद्वयको भेटवार्ता सामाजिक सञ्जाल एक्समा उल्लेख भएजस्तो त्यतिसाह्रो हार्दिक थिएन कि भन्ने संकेत दिन्छ।
के भने ओलीले?
प्रधानमन्त्री ओलीले सोमबार बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित ‘हिमालयन डायलग’ को उद्घाटन सत्रलाई सम्बोधन गरे, जुन मोदीसँगको भेटवार्तापछि भूराजनीतिक र छिमेक मामिलामा गरेको उनको पहिलो सम्बोधन हो।
ओली–मोदी भेटअघि भारतको स्वराज्य म्यागेजिनले मोदीले ओलीसँगको भेटमा जे विषय उठाउनेछन् भन्ने दाबी गरेको थियो, त्यसबारे ओलीले संक्षिप्त जवाफ दिए। स्वराज्यले ओलीसँगको भेटमा मोदीले लिम्पियाधुरा–कालापानीमाथिको दाबी र चिनियाँ कार्ड खेल्न छाड्नुपर्ने, नेपाल–भारत सम्बन्ध कस्तो हुने भन्ने कुरा ओलीमा निर्भर हुने जस्ता कुरा राख्ने दाबी गरेको थियो।
‘हिमालयन डायलग’लाई सम्बोधन गर्नेक्रममा ओलीले लिम्पियाधुरा–कालापानीको भूभाग समावेशसहित संविधान संशोधन एकमतले राष्ट्रिय सहमतिका साथ गरिएको स्मरण गराए।
‘पहिलो संविधान सभाबाट गणतन्त्र घोषणा गरिँदा विपक्षमा ४ मत परेको थियो, पहिलोपटक संशोधन हुँदा २५ मत परेको थियो,’ ओलीले स्मरण गराए, ‘तर, लिम्पियाधुरा–कालापानीसहितको नक्सासहित दोस्रोपटक संविधान संशोधन जारी हुँदा एक मत पनि विपक्षमा परेको होइन, पूराका पूरा संसदले सर्वसम्मतिका साथ संविधान संसोधनको निर्णय गरेको हो।’
‘छिमेकीका जायज चासो, चिन्ता र सरोकारलाई हामीले ख्याल गर्नुपर्छ,’ नेपालका लागि भारत र चीनसँगको सम्बन्ध बराबरी रहेको सन्देश दिँदै ओलीले भने, ‘मानौँ तीनजना साथीहरू छन्। यस्तो स्थितिमा हामीले यता कि उता ढल्कने गल्ती गर्नुहुँदैन। हामीले उनीहरूलाई बराबरी प्राथमिकता दिनुपर्छ।’
‘पेकिङ जाँदा तिमी कतातिर छौ भन्ने प्रश्न आयो भने हामी नेपालमै छौँ भन्ने जवाफ दिनुपर्छ,’ ओलीले थपे, ‘नयाँदिल्ली जाँदा पनि यस्तो प्रश्न उठ्यो भने– होइन, हामी त काठमाडौँमा छौँ भन्न सक्नुपर्छ।’
लिम्पियाधुरा–कालापानीसहितको संविधान संशोधनको सन्दर्भ उप्काउनुअघि प्रधानमन्त्री ओलीले नेपालको भूराजनीतिक सप्ठेरा–अप्ठेराहरूको चर्चाका साथ छिमेकीहरूसँग कसरी ‘डिल’ गर्ने भन्ने चर्चा पनि गरेका थिए।
‘भूराजनीतिलाई हामीले हाम्रो कमजोरी लुकाउने आधार बनाउनु हुँदैन,’ ओलीको भनाइ थियो, ‘मित्रहरूसँग हामीले आफ्ना कुरा प्रस्टसँग राख्न सक्नुपर्छ।’
भूराजनीतिक कमजोरीको चर्चा गर्ने क्रममा ओलीले नेपालबाट छिमेकीहरूको ‘बानी बिगार्ने काम भइरहेको’ पनि आरोप लगाए। भारतको नाम उल्लेख नगरी उनले पुल्पुल्याउने काम नेपालबाटै भइरहेको सन्देश दिने प्रयास गरेका थिए।
आफ्नो यो कुरालाई थप प्रस्ट पार्न ओली साथीलाई आफूले मात्र एकोहोरो चिया खुवाइरहँदा अन्तिममा कस्तो स्थिति बेहोर्नुपर्छ भन्ने कुराको उदाहरण दिनसमेत भ्याए।
‘मित्रलाई २–३ चोटि चिया खुवाउनोस्, उसले एकदम हितैषी ठान्छ र सधैँ तपाईंले नै चिया खुवाइरहनुहुन्छ भन्ने अपेक्षा गर्न थाल्छ,’ ओलीले भने, ‘तर, यसरी सधैँ चिया खुवाइरहेको मित्रलाई एकदिन तपाईंले चिया नखुवाउनोस् त, के हुन्छ! उसले तपाईंलाई खराब देख्न थाल्छ। तपाईंसँग सम्बन्ध तोड्न पनि बेर लगाउँदैन।’
पौने घण्टा लामो सम्बोधनका क्रममा ओलीले भारतीय समकक्षी मोदीको नाम लिएनन्, ब्यांककमा मोदीसँग भएको भेटवार्ताको प्रसङ्ग पनि निकालेनन्।
‘हिमालयन डायलग’ को उद्घाटन सम्बोधनमा ओलीको अभिव्यक्ति हाम्रो राष्ट्रिय हित अनुकुल थियो, अहिलेको भारतीय संस्थापन अनुकूल भने थिएन।
‘मण्डारिन ओरिएन्टल’ मा २२ चैत्र अपरान्ह भएको भेटवार्तामा पनि सायद ओली मोदीसँग यस्तै यस्तैगरी प्रस्तुत भएका थिए। सम्भवतः त्यही कारण हुनसक्छ– भेटवार्तापछि सार्वजनिक तस्बिरमा ओलीको तुलनामा मोदीको अनुहार त्यति उज्यालो देखिँदैन।
दूतावास पुग्दासम्म खुसी थिएनन् ओली
मोदीसँगको भेटवार्तापछि ओलीसहितको नेपाली प्रतिनिधिमण्डल आफूहरू बसेको साङ्ग्रिला होटल नआई सिधै ब्यांककस्थित नेपाली राजदूतावास निरीक्षणमा पुग्ने कार्यक्रम थियो।
तर, मोदीसँगको भेटका लागि जब भारतीय पक्षले ओलीलाई मात्र निम्तो दियो, परराष्ट्रमन्त्री डा. राणा सहित अन्य प्रतिनिधिमण्डल होटलमै रोकियो। मोदीसँगको भेट सकिएपछि ओली पनि साङ्ग्रिला होटल आइपुगे। परराष्ट्रमन्त्री डा. राणासहित प्रतिनिधिमण्डलका अन्य सदस्यहरू ओलीका साथ नेपाली राजदूतावास पुगे।
स्रोतका भनाइमा, वान–अन–वान भेटवार्ताका बाबजुद, मण्डारिनबाट साङ्ग्रिला होटल आइपुग्दा ओलीको अनुहार त्यति उज्यालो देखिँदैनथ्यो। बरु एक किसिमको चिडचिडाहट देखिन्थ्यो।
‘प्रधानमन्त्री ओलीबाट राजदूतावासको निरीक्षण र राजदूतसहितका कर्मचारीलाई निर्देशनसहितको सम्बोधन गर्ने कार्यक्रम थियो,’ स्रोतले भन्यो, ‘राजदूत धनबहादुर ओलीले सम्बोधन र निर्देशनका लागि प्रधानमन्त्री ओलीलाई माइक हस्तान्तरण गर्नुभयो। तर, प्रधानमन्त्रीले माइकमा रुचि देखाउनु भएन, यत्तिकै बोल्छु भन्दै सम्बोधन सुरु गर्नुभयो।’
राजदूतावासमा ओलीले लामो निर्देशन–सम्बोधन गरेनन्। बरु, ‘तपाईंहरूले राम्रो गरिरहनु भएको छ’ भनेर सम्बोधन टुङ्ग्याए। पूर्वनिर्धारित कार्यक्रम अनुसार दूतावास निरीक्षण र निर्देशन सम्बोधनपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा राजदूतावासले आयोजना गरेको रिसेप्सनका लागि अमारी ब्यांकक होटल प्रस्थान गरेका थिए।
‘प्रधानमन्त्री ओलीले नेपालको सरोकार र आफ्ना कुराहरू भारतीय प्रम मोदीसँग प्रष्टसँग राख्नुभयो होला,’ जानकार स्रोतले भन्यो, ‘तर, मोदीले त्यसलाई सहज रूपमा लिएनन् कि! फोटोमा मोदीको तुलनामा हाम्रा प्रधानमन्त्री बढी उज्यालो देखिए पनि साङ्ग्रिला होटल र राजदूतावास पुग्दा उहाँ त्यति खुसी नदेखिनुको कारण यही हुनसक्छ।’
Shares

प्रतिक्रिया