राजनीति


वरिष्ठ पत्रकार भैरव रिसाल प्रेरणाको स्रोत: प्रचण्ड

वरिष्ठ पत्रकार भैरव रिसाल प्रेरणाको स्रोत: प्रचण्ड

नेपालखबर
चैत २५, २०८१ सोमबार १२:२२, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ पत्रकार भैरव रिसाल प्रेरणाको स्रोत भएको बताएका छन्। 

रिसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले उनको निधनले इमान्दार, स्पस्ट वक्ता, निर्भिक र उर्जावान व्यक्तित्व गुमाएको बताएका छन्।

‘२०१३ सालदेखि निरन्तर इमानको पत्रकारिता र समाजसेवा गर्दै वैचारिक रुपमा दृढ एवं व्यवहारिक रुपमा सरल जीवनशैलीका साथ झण्डै एक शताब्दी लामो जीवन यात्रा पूरा गर्नुभएका रिसाल नेपाली पत्रकारिता एवं वामपन्थी आन्दोलनको इतिहासमा प्रेरणाको स्रोतको रुपमा रहिरहनुहुने छ,’ प्रचण्डले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

वरिष्ठ पत्रकार रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको थियाे।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको हाे। उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो।

रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए।

रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए।

उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए।

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए। जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad