राजनीति


रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सोमबार सर्वोच्च जाँदै रास्वपा

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सोमबार सर्वोच्च जाँदै रास्वपा

नेपालखबर
चैत २३, २०८१ शनिबार १७:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएको छ। पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी सोमबार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने सुनाएका हुन्। 

'आजको कार्यक्रम खल्लो भएको छ यहाँ मेरो ठाउँमा रवि लामिछाने हुनुपर्ने थियो। उहाँको मुद्दालाई अस्त्रीकरण गरिएको छ। उहाँले हिरासत बस्दा ८४ दिन केके भयो सुनाउने भन्नु भएको थियो। त्यही भन्न नदिन हिजो हतकण्डा अपनाइयो,' वाग्लेले भने, 'अब रविजीकै सल्लाह बमोजिम अघि बढ्छौँ। पर्सि सोमबार अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौँ।'

उनले रविको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताए। 

'उहाँको सांसद पद निलम्बनमा राखिएको छ। आज पूर्पक्षका लागि थुनामा पठाएपछि प्रतिनिधिसभाको कुनै नियमावलीलाई फेरि टेक्ने बुझिएको छ,' उनले भने, 'सांसद पदको मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने गरी अघि बढ्ने प्रण गरेका छौँ।' 

उनले अहिलेको सरकारको औचित्य नभएको भन्दै यसको निकास खोज्न रास्वपा तयार भएको पनि बताए।  

शुक्रबार साँझ बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो। 

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेसँगै उनलाई प्रहरीले हिजो नै निवासबाट पक्राउ गरेको थियो। उनलाई आज बुटवल पुर्‍याइएको छ। 

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसविरुद्ध परेका निवेदनमा बिहीबार नै सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि शुक्रबारलाई हेर्दाहेर्दैमा राखिएको थियो। शुक्रबार साँझ अदालतले रविलाई थुनामा पठाउने आदेश गरेको हो।

रविले भने एक करोड धरौटी चर्को भएको भन्दै साधारण तारेखमा राख्न माग गर्दै उच्चमा निवेदन दिएका थिए। सुप्रीम सहकारीमा रवि, छविलाल जोशी र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। 

छविलाई यसअघि नै जिल्लाले थुनामा पठाउने आदेश गरेको थियो। उच्चले पनि सोही आदेशलाई सदर गरेको छ। 

उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad