नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ।
मुलुकमा गणतन्त्र विरोधीद्वारा विद्यमान गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रर्दशन सुरु गरेपछि गणतन्त्रका पक्षधरको साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक सम्मेलनको तयारी गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए।
उनका अनुसार सम्मेलनमा रोजगारी र सुशासनका लागि नयाँ रुपरेखा तयार गरिनुका साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा, राजनीतिक दलका नेतृत्वले गरेका कमीकमजोरी तथा समस्या समाधानका विकल्पलगायत विषयमा छलफल गरिने छ।
पूर्वराजा समर्थक समूहले सुरु गरेको अराजक र हिंसात्मक आन्दोलनका विरुद्ध देशभरका जनतालाई सुसूचित गर्न आगामी दिनमा साझा मुद्दा बनाएर कार्यक्रम सञ्चालन गर्ने कार्यसूची सम्मेलनले तय गर्ने महासचिव भुसालले बताए।
उनका अनुसार जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था, गरिबी निवारण, सुशासन, रोजगारीका सम्भावित क्षेत्र तथा अवसरबारे अन्तरक्रिया गरिने छ। रासस
Shares

प्रतिक्रिया