राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएको ५ दिनमै फेरि थुनामा गएका छन्।
सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि उनी पुन: पक्राउ परेका हुन्।
सहकारी ठगीकै आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने साढे ५ महिनापछि चैत १८ गते मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किंदै केन्द्रीय समिति बैठकको अध्यक्षता गरेका थिए।
तर बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएपछि रवि गिरफ्तार भएका हुन्।
यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए। तर सोही प्रकरणका अर्का अभियुक्त छविलाल जोशीलाई भने थुनामा पठाउन आदेश दिएको थियो।
यसपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। यसमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार रविलाई थुनामा पठाउन आदेश दिएको हो।
अदालतको आदेशलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अब उनलाई रुपन्देही लगिनेछ।
सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ।
उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीबीले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। जीबी राई भने फरार छन्।
Shares

प्रतिक्रिया