नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भीर त्रुटि भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको? भन्दै प्रश्न गरे।
उनले अराजक प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गरे।
उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाए।
‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ। अहिले त सेटिङको कुरा मात्र आइरहेको छ,' उनले भने, 'अलिकति विचौलियारूको पनि कुरा आइरहेको छ।'
उनले जनतामाझ भएको असन्तुष्टिको आक्रोश कम गर्न सरकारको योजना के छ भनेर प्रश्न पनि सोधे।
'जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ?,' उनले भने, 'अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन्। उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो?’
उनले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताए।
Shares

प्रतिक्रिया