नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'नालायक' भन्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे नबोलेको भन्दै टिप्पणी गरेका छन्। पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको जिम्मा पूर्वराजाले नै लिनुपर्ने बताएका हुन्
'१५ गते तीनकुनेमा भएको घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र नै हुन् अरु त मतियारमात्रै हुन्।
दुई जना युवाको ज्यान गयो। यसको कमान्डर दुर्गा प्रसाईं थिए,' उनले भने, 'ज्ञानेन्द्रले नै निर्मल निर्वास बोलाएर प्रसाईंलाई कमान्डर तोकेका हुन्। त्यसकारण त्यहाँ प्रसाईं र अरुले जे गरे पनि त्यो ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको हो। राप्रपाको पनि होइन।'
उनले बंगलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम छरेर दुर्गा प्रसाईंलाई परिचालन गरिएको आरोप पनि लगाए।
'बंगलादेशमा जस्तै लुटपाट गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम राखियो। दुर्गा प्रसाईंलाई परिचालन गरियो' उनले भने। पोखरेलले तीनकुने घटनाबारे पूर्वराजाको धारणा सार्वजनिक नभएको भन्दै आपत्ति पनि जनाए।
'१५ गतेको त्यो घटनाको पछाडि बेला बेला बक्तव्य दिइरहने ज्ञानेन्द्रको बोली फुटेकै छैन,' उनले भने, 'जनताको कुरा गर्न उनलाई के समस्या? उनले खटाएको मान्छेले मच्चाएको वितण्डाको बारेमा उनलाई थाहा नहोला? उचालेका मान्छेले गरेको उत्पातबारे थाहा नहोला? यस्ताले मुलुक र जनताको भविष्यको कुरा गर्ने? यस्ता नालायक।'
Shares

प्रतिक्रिया