राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ। मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दु:ख व्यक्त गर्दै यस्तो बताएको हो।
राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शोक बक्तव्य जारी गर्दै सांसदसमेत रहेका बोहराको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका हुन्।
'बैठकले वरिष्ठ नेता बोहोराको निधनप्रति गहिरो दु:ख व्यक्त गर्द भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको छ,' श्रेष्ठले जारी गरेको शोक बक्तव्यमा उल्लेख छ, 'राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गरिनेछ। राप्रपा शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ।'
त्यस्तै बोहोराको निधनमा तीन दिन शोक मनाउने, तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय बैठकले गरेको श्रेष्ठको भनाइ छ।
बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने उनले बताए। बुधबार नै अन्तिम संस्कार गरिने पनि उनको भनाइ छ।
Shares

प्रतिक्रिया