राजनीति


सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सोधे: ज्ञानेन्द्रले सीमा नाघे, कसो गर्ने हो?

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सोधे: ज्ञानेन्द्रले सीमा नाघे, कसो गर्ने हो?

नेपालखबर
चैत १७, २०८१ आइतबार २१:५७, काठमाडौँ

आइतबार साँझ ८ बजे सिंहदरबारमा सर्वदीय बैठक बस्यो। बैठकको सुरुवातमै पूर्वप्रधानमन्त्रीलगायत शीर्ष नेतालाई सम्बोधन गर्दै विषय बस्तु प्रवेश गराए।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको बैठकमा पूर्वराजा र उनको समर्थकको पछिल्लो गतिविधिबारे छलफल भएको छ।

बैठकमा ओलीले सुझाव माग गर्दै सोधे- ज्ञानेन्द्र शाहले सीमा नाघे कसो गर्ने हो?ओलीले सुझाव पछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो धारणा राखे। 

भट्टराईले पूर्वराजाको पछिल्लो गतिविधिलाई ठगी धन्दा भएको भन्दै उनलाई बयान लिएर कारबाही गर्न सुझाव दिए।  

'राजतन्त्र त उन्मुलन भइसकेको हो। ज्ञानेन्द्र शाहलाई उदार भएर देशमै रहने व्यवस्था मिलाइएको हो। उनले आफू राजा नै रहेको। श्री ५ महाराजाधिराज नै रहेको सम्बोधन गर्ने गरे यो ठगी धन्दा हो,'भट्टराईले भने, 'उनलाई ठगी धन्दाबारे बयान लिएर कारबाही गर्नुपर्छ।'

त्यस्तै बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि राजावादीहरूको क्रियाकलाप सही नभएको भन्दै एकताबद्ध हुनुपर्ने बताएका थिए।

'राजावादीहरूको पछिल्लो गतिविधि त्यति निको छैन। वर्तमान संविधान कार्यान्वयन र गणतन्त्र रक्षाका लागि सबै दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ' उनले भने। 

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरूमाथि प्रश्न गर्दै आफ्नो सुझावलाई नसुनेकोमा आपत्ति जनाए। 

उनले भने,'हामीले यो कुरा सुरुदेखि नै भनिरहेको हो। प्रतिगमनविरुद्ध मिलेर जानुपर्छ भनेर ठूला दलले सुनेनन्।'

केसीले जनतामा देखिएको असन्तुष्टीको मुख्य कारण नै ठूला भनिएका दल नै रहेको आरोप पनि लगाए। उनले थपे, 'जनतामा देखिएका असन्तुष्टी पनि तपाईंहरूकै कारण देखिएको हो। गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्छ।'  

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सधैँझै आज पनि छोटो भनाइ राखे। 

उनले भने, 'साथीहरूले बोलेको कुरामा मेरो समर्थन छ। गणतन्त्र रक्षाका लागि सबै एकजुट हुनुपर्छ। पूर्वराजाको पछिल्लो गतिविधि सही छैन।'

आजको बैठकले प्रतिगमनविरुद्ध गणतन्त्रवादीहरू मिलेर जान एकताबद्ध हुने निष्कर्ष निकालेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए।भट्टका अनुसार बैठकको अन्तिममा ओलीले भने, 'तीनकुने घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्। यसलाई सरकारले गम्भीर ढंगले लिएको छ।'

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले हिंसात्मक प्रदर्शन गरेपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपल्टै एकै ठाउँमा भेला भएका हुन्। 

बैठकमा  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,  नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा.बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad