विभिन्न ११ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिनुको कारण राजनीतिक हस्तक्षेप र भागबण्डाको परिणाम भएको बताएका छन्।
आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्यार्थी संगठनहरूले ‘विश्वविद्यालयमा विगत देखि नै लगातार सरकारका प्रमुख तथा विश्वविद्यालयका कुलपतिद्वारा चरम राजनीतिक हस्तक्षेप गर्ने र विश्वविद्यालयलाई तहस नहस गराउने षड्यन्त्र हुँदै आईरहेको’ आरोप लगाएका छन्।
अखिल (छैठौं), अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन नेपाल, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनले सरकारले गर्ने हस्तक्षेपबाट विश्वविद्यालयको उपकुलपतिले राजीनामा दिनुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन्।
‘हामी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र भागबण्डा मुक्त गर्न सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता राजनीतिक हस्तक्षेपका गतिविधि दोहोरिरहे कडा प्रतिवाद गर्दै निर्मम संघर्ष गर्ने चेतावनी दिन चाहन्छौँ।’
यस्तै, विद्यार्थी संगठनहरुले राजावादीहरूद्वारा आयोजित प्रदर्शनको क्रममा भएको घटनाको मुख्य योजनाकार ज्ञानेन्द्र शाह, पूर्व पन्च, र घटनाका सम्पूर्ण मतियारहरू माथी अनुसन्धान अगाडि बढाउन र कडा कारबाही गर्न माग गरेका छन्।

Shares

प्रतिक्रिया