नेकपा एकीकृत समाजवादीले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको स्थायी समितिको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रूपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही माग गर्ने निर्णय भएको जानकारी पनि दिए।
उनका अनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको अक्षमता र कमजोरी भएको ठहर गरेको छ।
एकीकृत समाजवादीले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति दिन माग पनि गरेको छ। सञ्चारगृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति निन्दा व्यक्त गरेको छ।
बैठकका निर्णय सुनाउँदै ज्वालाले भने, ‘हाम्रो पार्टीको काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुढा, तोडफोड र आगजनीविरूद्ध यही चैत २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।’
Shares

प्रतिक्रिया