राजनीति


फरार दुर्गा प्रसाईँ फेसबुकमा, भन्छन्– मलाई मार्ने योजना रहेछ

फरार दुर्गा प्रसाईँ फेसबुकमा, भन्छन्– मलाई मार्ने योजना रहेछ

फाइल तस्बिर


नेपालखबर
चैत १७, २०८१ आइतबार १४:१, काठमाडौँ

तीनकुनेको राजावादी प्रदर्शनका अगुवामध्येका एक दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन्।

चैत १५ गते शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको अगुवाइ गरेका उनी त्यस घटनायता फरार छन्।

एउटा मन्दिरजस्तो ठाउँबाट खिचिएको भिडिओ फेसबुकमा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन्। 

आफूले शान्तिपूर्ण कार्यक्रम गर्न लागेको भए पनि प्रहरी प्रशासनका तर्फबाट भड्काइएको उनले दाबी गरेका छन्।

शुक्रबार तीनकुनमा गरिएको प्रदर्शनका ‘जनकमान्डर’ उनै थिए। उनले ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए। आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न पनि उक्साएका थिए। 

प्रहरीले रोक्न खोज्दा पनि उनी रोकिएनन् र सुरक्षा घेरा तोडेरै छाडे। यतिन्जेल प्रहरी पनि संयमित देखिन्थ्यो। सुरक्षाकर्मीको चेतावनी अटेरी गरी गाडी हुइँकाउँदै उनले समर्थकलाई उत्तेजित बनाएका थिए।

तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणाले पनि उक्साएका थिए।

मिश्र र राणाले मञ्च खाली गरेर सडकमा आउन प्रदर्शनकारीलाई उक्साएका थिए। 

‘रमिता हेर्ने होइन मञ्चबाट और्लाैँ साथीहरू, तपाईँहरू पनि अगाडि बढ्नुस्, हामी पनि अगाडि बढ्छौँ,’ राणाले माइकबाट भनेका थिए।

लगत्तै उनको हातबाट माइक तानेर मिश्र पनि चिच्याउँदै थप्छन्, ‘साथीहरू सबै हिँड्नुस्।’

त्यसपछि भड्किएको दंगामा २ जनाको ज्यान गएको छ। कम्तीमा १४ ठाउँमा आगो लगाइएको छ। सरकारी र निजी सम्पत्ति तोडफोड र लुटपाट गरिएको छ।

प्रदर्शनकारी भड्काएर प्रसाईं भने आफू एउटा सटरमा गएर लुकेका थिए। प्रदर्शन केही साम्य भएपछि सटरबाट लुसुक्क निस्किएर गाडी चढी भागेका थिए। 

त्यस साँझ पुष्कर खतिवडाकहाँ बसेको पाइएको छ। खतिवडा शनिबार पक्राउ परे पनि प्रसाईं फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad