काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनको मुख्य योजनाकार र दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको ठहर गरेका छन्।
उनले शाहलाई सोवापत् ७ लाख ९३ हजार रुपैयाँ जरिवाना नै तोकेका छन्। जरिवाना तोकेर पत्र निर्मल निवास पठाएका छन्।
उनको यस कदमलाई लिएर पक्ष र विपक्षमा जनमत बाँडिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले गणतन्त्रको सौन्दर्यका रुपमा अर्थ्याएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र शाहले काठमाडौंका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन्। यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।’
काठमाडौँ महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, विभिन्न शीर्षकमा लाखौँको जरिवाना
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ज्ञानेन्द्रलाई जरिवाना तोक्नुलाई ‘स्टन्ट’ भनी टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। गलत ठेगानामा पठाइएको पत्रजस्तो स्टन्ट भयो। मेयर बालेन शाहबाट यस्तो त्रुटि कसरी भयो होला? म अलमलमा छु।’
२०६३ जेठदेखि निर्मल निवास बसिरहेका ज्ञानेन्द्रलाई महानगरले किन तोक्यो त जरिवाना?
आयोजक को?
तीनकुनेमा शुक्रबार गरिएको राजावादी प्रदर्शनको मुख्य आयोजक ज्ञानेन्द्र भएको महानगरले ठहर गरेको छ। त्यही कारण घटनाको दोषीलाई जरिवाना गरिएको बालेनको सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए।
उनका भनाइमा त्यहाँ कुनै संगठित दल वा दर्तावाल संस्थाले कार्यक्रम आयोजना गरेको थिएन।
यो कार्यक्रम आयोजना गर्नुभन्दा केही दिनअघि मात्र पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो। तर शुक्रबारको कार्यक्रमको कमान्डर भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तोकिएका थिए।
मैदानमा विध्वंसको सुरुवात पनि उनले आफ्नै गाडी प्रहरीमाथि चलाउन खोजेर गरेका थिए।
त्यसपछि राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणाले प्रदर्शनकारीलाई 'रमिता नहेरौँ, अघि बढौँ' भन्दै उक्साएका थिए।
त्यहाँ मञ्चमा कुनै ब्यानर सजाइएको थिएन। आयोजकको नाम लेखिएको थिएन। मुख्य वक्ता पनि तोकिएको थिएन। कार्यक्रमको अध्यक्षता वा सभापतित्व पनि कसैले गरेको थिएन।
‘तीनकुनेको घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएका छैनन्। कुनै पनि शीर्ष नेताले यो हामीले गरेका छौँ, हामी घटनाको जिम्मेवारी लिन्छौँ भनेका छैनन्,’ बालेन सचिवालयका ती सदस्यले भने, ‘दुर्गा प्रसाईँ देखिए, रवीन्द्र मिश्र र धवलशम्शेरहरू देखिए तर जिम्मेवारी लिएनन्। उनीहरु पनि मुख्य व्यक्ति हुन् भन्ने देखिँदैन। तिनको हैसियत पनि परिचालित प्रकृतिको देखिन्छन्।’
कसलाई जिम्मेवार ठहर्याउने र कसका नाममा जरिवाना तोक्ने भनेर बालेनले आफ्नो टिममा बिहानैदेखि लामै छलफल गरेका थिए। अन्ततः शुक्रबारको प्रदर्शनमा अगाडि जो देखिए पनि मूलरुपमा उनीहरु निर्मलनिवासबाटै परिचालित हुन् भन्ने निष्कर्ष निकाले।
‘पहिला त त्यो घटनाको जिम्मेवारी लिनुपर्यो, पार्टीको कार्यक्रम हो भनेर आह्वान गरेको हुनुपर्यो,’ ती सदस्यले भने, ‘मुख्य कुरा यो कार्यक्रम ज्ञानेन्द्रको निर्देशनमा समिति बनाएर भएको हो। समितिको केन्द्रमा पूर्वराजा छन्। राप्रपा, राप्रपा नेपालका मुख्य नेता घर बसेर दोस्रो-तेस्रो तहका मात्र आउनुले पनि यो कुरा पुष्टि हुन्छ। कुनै दलले यसको जिम्मा नलिएको भएर ज्ञानेन्द्र नै यसको आयोजक हो भन्ने निश्चित गरी महानगरले जरिवाना तोकेको हो।’
निर्मल निवासकै स्वार्थ, योजना र निर्देशनमा यो घटना घटाइएको कारणले नै कसैले जिम्मा नलिएको महानगरको बुझाइ छ।
‘तीनकुनेको कार्यक्रम समितिले गरेको हो। समितिका मान्छेलाई कसले अपोइन्ट गरेको भन्दा ज्ञानेन्द्र शाहले,’ ती सदस्य थप्छन्, ‘दुर्गा प्रसाई निर्मल निवासबाट निस्किएर आन्दोलनमा गएको हो भनेर भिडियो फुटेज सार्वजनिक भइरहेका छन्।’
ज्ञानेन्द्रलाई जरिवाना तोकेपछि राजावादी नेताले महानगरका कर्मचारीलाई टेलिफोन गरेर पनि प्रश्न सोधेका छन्, ‘ज्ञानेन्द्र त्यो कार्यक्रमको आयोजक कसरी भए? जबकि, उनी निर्मल निवासबाट निस्किएकै छैनन्।’
तर, बाहिर ननिस्की ज्ञानेन्द्रको निर्देशन पाएका दुर्गा प्रसाईँले तीनकुने क्षेत्रलाई छिनभरमै रणमैदान बनाए। प्रसाईँको आड पाएका राजावादी जत्थाले निजी, सरकारी सम्पत्ति तहसनहस पारे। यही कारण निर्मल निवासमा पत्र पठाएको बालेनका ती सहयोगीको भनाइ छ।
जरिवाना निर्धारणका आधार
तीनकुने क्षेत्र काठमाडौँ महानगरपालिका वडा नं ३२ मा पर्छ।
सोही क्षेत्रमा शुक्रबार र शनिबार बालेनले स्थलगत अध्ययनका लागि आफ्ना टोली पठाए। प्राविधिक कर्मचारी र नगर प्रहरीसहितको टोलीले क्षतिको विवरण संकलन गरेको थियो।
प्रदर्शनकारीले क्षतिग्रस्त पारेका महानगरको क्षेत्राधिकारमा पर्ने संरचनाको विवरण संकलन गरेर टोली फर्कियो। प्राविधिक सहितको सो टोलीले प्रतिवेदन बुझाएपछि ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोकिएको हो।
निजी सम्पत्ति र प्रदेश तथा संघीय सरकारको क्षेत्राधिकारमा पर्ने खालका सम्पत्तिमा पुगेको क्षतिको आकलन गृह मन्त्रालयले गर्ने विश्वास महानगरले लिएको छ।
सडक र पेटीहरु फोहोर पारेको, बगैँचाहरू बिगारेको, बोटविरूवा फूलहरू नासिएको आधारमा महानगरको टोलीले क्षति मूल्यांकन गरेको थियो।
आठवटा शीर्षकमा तोकिएको जरिवानामध्ये सबैभन्दा बढी दमकल महानगरको दमकलमा ढुङ्गामुढा गरेर फुटाइएकामा छ। १ लाख ३० हजार रुपैयाँ यस शीर्षकमा जरिवाना निर्धारण गरिएको छ।
महानगरका संरचना पुर्याइएको क्षतितर्फ लक्षित गरेर नै शुक्रबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सोधेका थिए, ‘हाम्रा नानीबाबुहरूले के सिक्नुहुन्छ बाहरू?’
शनिबार उनले पत्र नै लेख्न भ्याए।
राप्रपा र एमालेपछि ज्ञानेन्द्रलाई जरिवाना
ज्ञानेन्द्र शाहलाई मात्र होइन, मेयर बालेनले राप्रपा, एमाले र अन्य संघसंस्थालाई पनि जरिवाना तिराएका छन्।
राप्रपाले दुईपटक जरिवाना तिरिसकेको छ। एमालेलाई पत्र पठाए पनि उसले टेरेको छैन।
खासमा बालेन आएपछि नै स्थानीय सरकारको यो अधिकार कठोर रुपमा कार्यान्वयन गरिएको छ। सहरको सौन्दर्य कायम राख्न र सार्वजनिक सम्पत्ति जोगाउन उनको यो कदम केही सार्थक पनि देखिएको छ।
बालेनले पत्र काट्छन् भनेर पनि कतिपय संघसंस्थाहरु आजकाल कार्यक्रम आयोजना गर्दा सचेत हुने गरेको अनुभव महानगरका कर्मचारीहरु सुनाउँछन्।
स्थानीय सरकारलाई संविधानले नै दिएको २२ वटा अधिकार तोकेर दिएको छ। आफ्ना ३२ वटा वडालाई चिटिक्क पार्ने दायित्व उनलाई छ।
ठूला दलका शीर्ष नेतामाथि कठोर टिप्पणीहरु गरेर आफैँ महानगर बनाउँछु भन्दै चुनाव जितेका बालेनलाई यस्ता कदम चाल्न र सम्झौता नगर्न आफ्नै प्रतिबद्धताको दबाब पनि छ। त्यसैले बेलाबेला हुने प्रदर्शन, जुलुस लगायतका कार्यक्रमले काठमाडौँ महानगरको सौन्दर्य बिगार्दा उनी पत्र काट्न तम्सिहाल्छन्।
उनका एक सल्लाहकार सुनाउँछन्, ‘यदि मिल्थ्यो भने उनी यस्ता कार्यक्रम गर्नै नदिने नीति ल्याउँथे होला। तर, केन्द्रीय सरकार रहेको सिंहदरबारसमेत उनकै महानगरभित्र पर्ने भएकोले देशभरका असन्तुष्टि र मागहरु उनकै कार्यक्षेत्रमा पोखिन्छन्। रोक्न सक्तैनन्।’
महानगरभित्र कुनै सभा वा जुलुस प्रदर्शनका क्रममा फोहोरमैला गरेमा, पर्चा छरेमा वा सडक बिगारेमा आयोजकलाई जरिवाना तिराउँदा बालेनले चर्चा पनि उत्तिकै कमाएका छन्।
समाजवादी मोर्चालाई तिराउनै परेन !
शुक्रबार नै समाजवादी मोर्चाको पनि प्रदर्शन थियो। जसमा हजारौँ मानिस आएको गृह मन्त्रालयको आकलन छ।
बालेन्द्रले सो कार्यक्रम आयोजक मोर्चालाई जरिवाना तिराएनन्।
किन त?
बालेन सचिवालयका ती सदस्यका अनुसार, मोर्चाले आयोजक किटान गरेर पहिल्यै पत्र पठाएर कार्यक्रम सकिएपछि आफै सफा गर्ने प्रतिबद्धता जनाएको थियो।
‘कार्यक्रम सकेपछि आयोजकले नै सरसफाइ गरेछन्,’ उनले भने, ‘गाडी पठाइदिनू भनेर महानगरलाई औपचारिक पत्र पनि पठाएका थिए। हामीले सहजीकरण गर्यौँ। सरसफाइ भयो। महानगरले आफ्नो क्षेत्रमा फोहोर मैला, संरचनामा क्षति पुगेमा जरिवाना गर्ने हो। समाजवादी मोर्चाले कार्यक्रम सकेपछि सबै पहिलाकै जस्तो अवस्था बनाइदियो। यतिसम्म कि सो क्षेत्रमा रहेका कुनै वस्तुमा पनि असर परेको थिएन। हाम्रो उद्देश्य जरिवाना होइन, सहरको सौन्दर्य र सम्पदाको सुरक्षा हो।’
Shares

प्रतिक्रिया