काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको छ।
महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ।
एउटा शीर्षकमा १ लाख ३० हजार, ६ वटा शीर्षकमा १-१ लाख र एउटा शीर्षकमा ६३ हजार गरी ७ लाख ९३ हजार रूपैयाँको बिल महानगरपालिकाले निर्मल निवासमा पठाएको छ।
तीनकुने वितण्डाको मुख्य दोषी ठहर गर्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो जरिवाना तोकेको हो।
सिनामंगल क्षेत्रमा सडकपेटीमा जथाभावी फोहोर गरेको, तीनकुनेमा रुखबिरुवा र रेलिङ तोडफोड गरेको, तीनकुने आइल्यान्डमा तोडफोड गरेको, तीनकुनेकै सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको, महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको लगायतका आरोपमा यो जरिवाना तोकेको महानगरपालिकाले पत्रमा उल्लेख गरेको छ।
तीनकुनेमा भएको क्षतिको जरिवाना निर्मल निवासलाई तिराउँदै बालेन
जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो।
महानगरपालिकाका प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले ज्ञानेन्द्र शाह, निर्मल निवासलाई सम्बोधन गरी एउटा पत्रमा लेखेका छन्, ‘प्रस्तुत विषयमा मिति २०८१ चैत १५ गतेका दिन काठमाडौँ महानगरपालिका वडा नं ३२, तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,००० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
कुन शीर्षकमा कति जरिवाना?
पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको १ लाख, महादेवस्थानको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख, तीनकुनेको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा अर्को १ लाख रूपैयाँ जरिवाना महानगरपालिकाले तोकेको छ।
यस्तै, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको १ लाख, बालकुमारीको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख, सिनामंगलको सडक तथा पेटीमा जथाभावी फोहोर गरेको १ लाख रूपैयाँ जरिवाना तिर्न महानगरपालिकाले भनेको छ।
महानगरपालिकाले सबैभन्दा ठूलो जरिवानाचाहिँ दमकल तोडफोडवापत गराएको छ। महानगरपालिकाको दमकलसहित अग्नि नियन्त्रकहरूलाई ढुंगामुढा गरी दमकल फुटाएको भनी १ लाख ३० हजार रूपैयाँ जरिवाना तोकेको छ।
यस्तै तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेवापत ६३ हजार रूपैयाँ जरिवाना महानगरपालिकाले लगाएको छ।
ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।
महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण संकलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।
त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण संकलन गर्न पुगेको थियो।








Shares

प्रतिक्रिया