राजनीति


‍शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति पौडेल

‍शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति  पौडेल

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८१ बिहिबार १८:६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगत बगाएर ल्याएको उपलब्धि भएको बताएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा पुगेका राष्ट्रपति पौडेलले अहिलेको व्यवस्थामा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई नै रहेको बताए। 

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने पनि बताए। राष्ट्रपति पौडेलले भने, 'शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।'

नागरिक स्वतन्त्रता र शासन प्रणालीमा सुधार समयको माग र जनताको चाहना दुवै भएको बताउँदै राष्ट्रपतिले जनताले बनाएको संविधानविपरीतका निरंकुशता र अराजकता पनि जनतालाइ स्वीकार्य नहुने बताए।
 
'इतिहास साक्षी छ, १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र, नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्,' पौडेलले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ। यो हजारौँको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो।'

राष्ट्रपति पौडेलले तत्कालीन राजा महेन्द्र र पछि वीरेन्द्रले नेतृत्व गरेको पञ्चायतले विरोध गर्नेहरूको ज्यान लिने गरेको भन्दै अहिलेको व्यवस्था त्यसअघिदेखिका सहिदको बलिदानबाट आएको बताए। 

सरकारको निरंकुशताको विरोध गर्नेहरूलाई टिम्मुरबोटेमा ओढारभित्रै थुनेर दर्जनभन्दा बढीको हत्या भएको भन्दै त्यस्ता क्रूर शासकहरूले फेरि त्यस्तै व्यवस्थाका पक्षमा अहिले वकालत गरिरहेको उनको भनाइ थियो। उनले एकै ठाउँमा आमहत्या गरेको टिम्मुरबोटे नजिकै रहेको भन्दै उक्त ठाउँको स्मरण गर्दा पनि भावविह्वल हुने बताएका थिए।
 
सभामुख हुँदा पैदल यात्रा गर्दै यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको उनले स्मरण गरे। उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्मुरबोटेको ओढारमा रुझ्दै र भिज्दै पुगेको बताए। 

०३१ सालमा सुरक्षाकर्मीले घेरा हालेर ओढारभित्रै दर्जनभन्दा बढी मुक्ति सेनाको ज्यान लिएको घटना ‘टिम्मुरबोटे काण्ड’का रूपमा चर्चित छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad