नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीको १०औं महाधिवेशनमा उम्मेदवारका आकांक्षीलाई फाराम नदिई निषेध गरेको गुनासो गरेका छन्। विराटनगरमा जारी महाधिवेशनमा प्रधानमन्त्री निवास बालुवाटारबाट तोक लगाएकाबाहेकले उम्मेदवारी दिन नपाएको असन्तुष्ट पक्षले नेपालखबरलाई बताएको छ।
अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र गौतम छन्। उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभाग प्रमुखसमेत हुन्। उनले अध्यक्षका प्रत्यासी राजेश राईलगायतका समूहलाई उम्मेदवारको फारम नै नदिएको आरोप लागेको छ।
'बालुवाटारले मध्यरातमा तोक लगाएकालेमात्रै उम्मेदवार फाराम पाउने अवस्था छ। केन्द्रीय सदस्यमा अध्यक्ष मण्डलले जसलाई दिन मन लाग्छ उसलाई दिने गरिएको छ,' चौतारीका नेता माधवप्रसाद तिवारीले भने, 'महंगो शूल्क तिरेर भए पनि प्रतिनिधिले फाराम लिन नपाउने भयो। नेताहरूले जसलाई चिट दिएका छन् उसलेमात्रै फाराम पाउने भएको छ। उहाँहरूले टिम बनाएर फारम बेचेर त्यसलाई प्रक्रिया मिलाउने काम गरिरहनु भएको छ।'
चौतारीमा ९ पदाधिकारीसहित ९९ केन्द्रीय कार्यसमिति रहने प्रावधान छ। विभिन्न प्रदेशबाट नाम छनोट गर्ने काम भइरहेको तिवारीले बताए।
निर्वाचन समितिले दिउँसो १ बजे मतदाता नामावली सार्वजनिक गर्ने सूची बनाएको थियो। त्यस्तै मतदाता नामावलीमा दाबीविरोध दिउँसो १:३० बजेलाई तोकिएको थियो।
दाबीविरोधमाथि जाँचबुझ भन २ बजे र अन्तिम नामावली २:३० बजे सार्वजनिक गर्ने भनिएको थियो। तर यसमा उम्मेदवार मनोनयनको समय भने राखिएको छैन।
Shares

प्रतिक्रिया