राजनीति


ज्ञानेन्द्रका कारण राप्रपामा कलह, राणा र मिश्रले टेरेनन् लिङ्देनलाई

लिङ्देन पक्ष भन्छ : १२ गतेको बैठकसम्म उहाँहरूलाई हेर्छौं
ज्ञानेन्द्रका कारण राप्रपामा कलह, राणा र मिश्रले टेरेनन् लिङ्देनलाई

सागर न्यौपाने
चैत १०, २०८१ आइतबार २१:१, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र नेताहरू विभाजित भएका छन्। पार्टीका दुईजना प्रभावशाली पदाधिकारी उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा पार्टीको निर्णयभन्दा फरक कित्तामा उभिएपछि विवाद उत्पन्न भएको हो।

अहिले राप्रपा उनीहरूप्रति ‘पर्ख र हेर’को अवस्थामा पुगेको सो पार्टीका एक पदाधिकारीले बताए। आगामी १२ गतेको केन्द्रीय कार्यसम्पादन समिति बैठकसम्म उपाध्यक्ष मिश्र र महामन्त्री धवलशम्शेर राणाको गतिविधि नियाल्ने ती नेता बताउँछन्।

‘उताको बैठक पनि उहाँहरूले ज्वइन गर्नुभएको छ। पर्सि १२ गते हाम्रो आफ्नै मूल समारोहको बैठक छ। त्यसपछि मात्र पिक्चर क्लियर हुँदै जाला,’ ती नेताले नेपालखबरसँग भने।

राजतन्त्र पुनर्स्थापनाको पक्षमा माहोल बनाउने विषयमै एकमत नहुँदा राजावादी शक्तिहरू तितरबितर भएका थिए। राजावादीमध्ये सबैभन्दा ठूलो शक्ति राप्रपाभित्रै नेताहरू दुई कित्तामा उभिएका छन्। 

राणा र मिश्रद्वारा पार्टी निर्णय अटेर
राजावादी दल, राजावादी संघसंगठन, केही व्यापारीहरूले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा चैत ४ गते ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए। 

त्यसको सदस्यसचिव राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र बने भने आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री धवलशम्शेर राणा बने। 

सदस्यहरूमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि नाम थियो। तर, उनी सुवेदीलाई कमान्डर मान्न तयार भएनन्। लिङ्देनले चैत ५ गते पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट आन्दोलन मूल आयोजक समितिको कमाण्ड आफ्नै हातमा लिए। जबकी यसअघि यसको कमान्डर महामन्त्री डा.धवलशमशेर राणा थिए। 

सो बैठकमा सुवेदी नेतृत्वमा बसेका मिश्र र राणा लगायत नेताहरूले प्रक्रियागत त्रुटि भएको स्वीकार्दै आत्मलोचना गरेको नेताहरू बताउँछन्। पार्टीले गर्ने आन्दोलनमै सक्रिय हुने निर्णयमा हस्ताक्षर गरेका मिश्र र राणा त्यसलाई अटेर गर्दै सुवेदीकै नेतृत्वमा राजसंस्था फर्काउने आन्दोलनका लागि खटिएका छन्। 

‘उहाँहरू मसँगै हुनुहुन्छ। आज पनि दिनभर हामीले आन्दोलनको मोडालिटीबारे कुरा गर्‍यौँ, कार्यालय व्यवस्थापन गर्‍यौँ, शुक्रबार पनि हामीले बैठक गरेका थियौँ,’ संयोजक सुवेदीले आइतबार नेपालखबरसँग भने, ‘हामी आन्दोलनको कार्यक्रम बनाउँदैछौँ। हामी मिलाउँदैछौँ। नक्सालमा अफिस खोलेका छौँ। भोलिदेखि दैनिक खुल्छ।’

त्यसले राप्रपाकै निर्णयको अवज्ञा भएको लिङ्देन पक्षीय नेताहरूको भनाइ छ। अध्यक्ष लिङ्देन असन्तुष्ट छन्। यद्यपि, उनले मुख खोलिसकेका छैनन्। लिङ्देनलाई उपाध्यक्ष मिश्र र महामन्त्री राणा फरक कित्तामा उभिएको आशंका छ। 

उनी निकट एक नेताले त मिश्र र राणाले द्वैध चरित्र देखाएको आरोप लगाए। 

‘पार्टीको नेता भएपछि पार्टीका मर्यादा, सीमा, अनुशासन हुन्छ होला, त्यो अवस्थामा आयो भने दलीय सर्वाेच्चता प्रधान हुन्छ,’ ती नेता भन्छन्।

तर, महामन्त्री राणा सो कुरा मान्न तयार छैनन्। सबै सल्लाहमै भएको र आफूहरूले गर्ने आन्दोलन संयुक्त भएको उनले दाबी गरे। 

‘पार्टीले नै हामीलाई पठाएको हो। हामी राप्रपा नै हौ। नवराजजी पनि राप्रपा हो,’ राणाले नेपालखबरसँग भने, ‘नागरिक तहमा पनि आन्दोलन गर्ने र एकआपसमा सहयोग गर्ने भन्ने हो। समस्या केही छैन। राप्रपाले गरे पनि नवराजजीको समितिलाई सहयोग गर्ने। नवराजजीले पनि राप्रपालाई सहयोग गर्ने भन्ने हो।’ 

आन्दोलनलाई प्रभावकारी बनाउन दुवैतिर आफूहरू सक्रिय हुनुपरेको उनी बताउँछन्।  

‘नवराज सुवेदी पनि हाम्रो पार्टीको नेता हो। उहाँको अध्यक्षतामा सबैलाई समेट्ने। किनकि, राप्रपाको ब्यानरमा सबै आउँदैनन्। उहाँको ब्यानरमा सबै आउँछन्, विस्तारै आइपनि रहेका छन्। करिबकरिब धेरैजसो आइसके,’ राणाले थपे।

तर, लिङ्देननिकट नेताहरू राणाले पटकपटक चुनौती दिइरहेको बताउँछन्। 

२०८२ मंसिरमा राप्रपाको महाधिवेशन गर्ने भनिएको छ। राणाले अध्यक्षमा उठ्ने तयारी तीव्र पारेका छन्। सोही अनुसार उनले नेताहरूको मन जित्न आफ्ना विचार तयार पारेका छन्। 

माघ १० र ११ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष लिङ्देनलाई टक्कर दिनेगरी फरक विचार अघि सारे। यद्यपि, पार्टी निर्माणका लागि राजनीतिक विचार प्रस्तुत गरेको उनको भनाइ थियो। 

६ पृष्ठ लामो उक्त विचारमा राणाले लिङ्देनले पार्टी चलाउनै नसकेको टिप्पणी गरेका थिए। 

‘पार्टीले कहाँकहाँ कमजोरी गर्‍यो भनेर पार्टी सुधार गर्न ६ बुँदे लिखित विचार पेस गरेको हुँ,’ उनले भने, ‘अध्यक्षको विरोधमा होइन। पार्टीलाई यसरी जाऊँ भनेर दिएको सुझाव थियो।’

तर, उनको लिखित विचारमा एकता महाधिवेशनको मर्म र भावना अनुरूप पार्टीलाई एक ढिक्का राख्न नसकेको लगायत विषय उठाएको नेताहरू बताउँछन्। जसलाई राप्रपाभित्र कतिपयले फरक विचार भन्ने गरेका छन्। 

‘महाधिवेशनलगत्तै ६ महिनाभित्र समान विचारधारा भएका दल, समूह, संस्था र व्यक्तिलाई एकताबद्ध गर्दै राजसंस्था, हिन्दु अधिराज्य लगायतका लक्ष्य प्राप्त गरिन्छ भन्ने नेतृत्वको सार्वजनिक प्रतिबद्धता आज कहाँ पुग्यो, इमानदार भएर लेखाजोखा गर्नु परेको छ,’ राणाको लिखित विचारमा समेटिएको वाक्यांश उद्धृत गर्दै एक नेताले भने। 

गिँजामा क्यान्सर देखिएपछि गत असोजमा राणा उपचारका लागि भारतको मुम्बई गएका थिए। सोही समय पारेर अध्यक्ष लिङ्देनले संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिए।

‘मसित नसोधेर मलाई संगठन विभाग प्रमुखबाट हटाइएको थियो। त्यसको सबैले विरोध गरे। अध्यक्षले पनि आफ्नो तर्फबाट भूल भएको भन्नुभयो,’ राणाले भने।  

बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति राखेको भन्दै लिङ्देनप्रति उनले पार्टीमा विरोध पनि गरेका थिए।

‘गुटबन्दी गर्ने, आलोचना गर्नेप्रति असहिष्णु देखिने, पार्टी छाडेर गए हुन्छ भन्ने किसिमको सन्देश प्रवाह भएमा त्यो संस्थागत विकास र एकताको पक्षमा हुने छैन,’ उनको लिखित विचार उद्धृत गर्दै एक नेताले भने। 

गणतन्त्रप्रति आक्रामक 
राणा गणतन्त्रप्रति आक्रामक हुन थालेको नेताहरूको भनाइ छ। फागुन २५ गते सामाजिक सञ्जालबाटै राणाले घोषणा गरेका थिए– ‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिँदै छ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछौँ।’ 

चैत ४ गतेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताए। 

‘देशमा परिवर्तनको हावा चलिसक्यो। देश पूर्णरूपमा असफल भइसक्यो। देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन्, त्यसैतर्फ जाऊँ, असफल भएको गणतन्त्र हटाऊँ,’ राणाले भने।

असोजयता अध्यक्ष लिङ्देनलाई चुनौती दिइरहेका राणालाई अहिले उपाध्यक्ष मिश्रले साथ दिएको लिङ्देन निकटहरू बताउँछन्। महामन्त्री भएकोले पार्टीमा उनले पकड जमाउने प्रयास जारी राखेका छन्। सुवेदी नेतृत्वमा आफैँ सक्रिय भएर उनले यही सन्देश दिएका छन्।

यही कुरा बुझेर चैत ५ गते अध्यक्ष लिङ्देनले उनको भूमिका खुम्च्याइदिएका छन्। तर, यसले राप्रपामा विवाद साम्य पार्नुको सट्टा झनै बढाउने चिन्तामा राप्रपा नेताहरु देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad