राजनीति


म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड

‘माओवादी उपचार गराउन जनतामाझ आएको हो’
म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड

चितवनको सभालाई सम्बोधन गर्दै प्रचण्ड


नेपालखबर
चैत ९, २०८१ शनिबार १५:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। 

तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। 

'हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,' उनले भने, 'हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’

उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए।

उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए। 

उनले माओवादीलाई विचौलियाले सरकारबाट बाहिर ल्याएको पनि आरोप लगाए।

'विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर बाहिर आउँदा जनताले हामीप्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,' उनले भने, 'केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन। हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्पसहित जनतामाझ आयौँ।'

उनले ०६४ मा जनताले नै माओवादीलाई सिंहदरबार पठाएको भन्दै उनले कांग्रेस, एमालेप्रति कटाक्ष गरे। 

'हामीलाई ०६४ पछि कांग्रेस एमाले र राजामहाराजाले दयामाया गरेर सिंहदरबार पुर्‍याएका थिएनन्,' उनले भने, 'हामी अपराजय हौँ। कसैले जित्नै सकेन। नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले पनि माओवादीलाई दबान सकिँदैन भन्ने बुझेका हुन्।'

जनतासँगको सम्बन्ध कमजोर भएपछि यथास्थितिलाई तोड्न जागरण अभियान सुरु गरेको दाहालको भनाइ छ। 

'जनतासँगको हाम्रो सम्बन्ध कमजोर भएपछि जालीझेली फस्टाउँदै गए। तर यथास्थितिलाई तोड्नै पर्छ भने हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान सुरु गर्‍यौँ' उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad