सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयमा वर्गीकरण गरेर अध्ययन छलफल गर्ने भएको हो।
बैठकले सातवटा उपसमिति बनाएर छलफल गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए। समितिमा परेका सबै उजुरीलाई समान प्राथमिकता दिएर छलफल गर्न उपसमिति बनाएको उनको भनाइ छ।
उजुरी अध्ययन कार्यदल नामक ती उपसमितिले १५ दिनभित्र सबै उजुरीको निर्णय गरिसक्ने उनले बताए।
कार्यदलले निर्णय गर्नुअघि समितिको सचिवालयले ७ दिनभित्र उजुरीसम्बन्धी प्रतिक्रिया लिने पनि निर्णय गरेको छ।
उनका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे परेका उजुरीमाथि पनि १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
समितिमा २० वटा शीर्षकमा ११४ उजुरी परेका छन्। समितिले ४८ वटा उजुरीलाई कार्यदलमार्फत अध्ययन र छानविन गर्ने भएको हो।
उजुरीका आधारमा नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, सहरी विकास मन्त्रालय, सहकारी, वैदेशिक रोजगार, धितोपत्र बोर्ड, स्वास्थ्य मन्त्रालय, क्रसर उद्योग, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल स्काउट, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत छन्।
१६ वटा उजुरीमाथि अध्ययन गरेर निर्णय सिफारिस गर्न नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा कार्यदल बनाएको छ।
सार्वजनिक लेखा समितिमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियमविपरीत कार्य गरेकोदेखि व्यवसायीहरूले सिमेन्ट र डण्डीमा मूल्यवृद्धि गरी कालोबजारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उजुरी दर्ता गराएका छन्।
समितिमा एमसीसीको नेपाल कार्यालयले विद्युत प्रसारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा पनि उजुरी परेको छ।
Shares

प्रतिक्रिया