सहकारी ठगी प्रकरणमा जिल्ला कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा ५७ दिन बिताएर धरौटीमा छुटेयता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुनै पनि विषयमा न सञ्चारमाध्यममा बोलेका छन् न सामाजिक सञ्जालमै देखिएका छन्।
विभिन्न सहकारी ठगीको मुद्दा लागेका पूर्वगृहमन्त्री लामिछाने अहिले तारेख बुझ्न विभिन्न जिल्ला अदालत धाइरहेका छन्। यस क्रममा उनलाई सञ्चारकर्मीहरूले बोल्न कैयौँपटक कर गरेका छन्।
तर हरेकपटक उनले ‘मेरो बोल्ने समय आइसकेको छैन, आएपछि अवश्य बोल्नेछु’ भनेर टार्ने गरेका छन्।
यसैबीच शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिन उच्च अदालत पाटन पुग्दा पनि रविलाई पत्रकारहरूले घेरिहाले।
उनीहरूले र्याखर्याख्ती पार्दै सोधे, ‘रवि लामिछाने राजावादी रहेछ भनेर चर्चा गरियो हजुर नबोल्दै गर्दा। के हो खास रास्वपाको लाइन?’
तर लामिछानेले स्पष्ट जवाफ दिएनन्।
उनले भने, ‘म आवेग र उत्तेजनामा छैन। किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले र नेपाली जनताले आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा वा उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन। त्यसकारणले मलाई थाहा छ तपाईंहरूको प्रश्नको आशय, र त्यसले कुन अर्थ लाग्छ भन्ने कुरामा पनि म एकदम जानकार छु। त्यसकारणले फेरि पनि यहाँहरूलाई विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु– यो देशको भविष्य मेरो पुस्ताको, तपाईं हाम्रो पुस्ताको हातमा छ। म तपाईंलाई हेडलाइन दिन्नँ चिन्ता नगर्नुस्। को कसको पक्षमा विपक्षमा गयो भन्ने कुरा होइन। दुईतिहाइको सरकार छ। अस्ति पनि भनेको थिएँ मैले। यो दुईतिहाइको सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो, एउटै कुरा तपाईंलाई स्मरण गराउन चाहन्छु– मैले पार्लियामेन्टमा भनेको थिएँ– जब बिना कुनै विषम परिस्थिति दुइटा ठूला राजनीतिक दलहरू मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयाभव हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि! अहिलेलाई म त्यही स्मरण गराउन चाहन्छु। अहिले म सरकारको लाज छोप्न विभिन्न अदालत धाइरहेको छु। समय आउँदै छ, चाँडै नै, म सबैलाई प्रतीक्षा गर्न अनुरोध गर्छु।’
हालै रास्वपाका संस्थापक महामन्त्री डा मुकुल ढकालले पनि सामाजिक सञ्जालमा लेख्दै रवि लामिछाने राजतन्त्रका पक्षमा रहेको आरोप लगाएका थिए।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।
धरौटी माग गरिएको उक्त आदेश चित्त नबुझकाले साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी लामिछानेले शुक्रबार उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन्।
गत पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
यस मुद्दामा उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो दाबी गरिएको छ।
प्रतिवादी कायम गरिएकामध्ये रवि र उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेकै बेला काठमाडौँ झिकाएर प्रहरीले सरकारी वकिलसमक्ष बयान पनि लिएको थियो।
यस मुद्दाका अभियुक्तमध्ये जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्।
यस मुद्दामा रविका नाममा सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ। छविका नाममा ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो तोकिएको छ।
गोर्खा मिडिया नेटवर्क प्रालिमा रवि प्रबन्ध निर्देशक र छवि उपाध्यक्ष थिए। जीबी अध्यक्ष थिए।
सहकारीको रकम गैरकानुनी तरिकाले गोर्खा मिडिया नेटवर्क नामक कम्पनीमा लगेर बचतकर्तालाई ठगेको मुख्य अभियोग उनीहरूमाथि लगाइएको छ।
अदालतले तत्काल उनी निर्दोष हुन् भन्न नमिल्ने भनी आदेशमा लेखेको छ।
जीबी समूहकै सहकारी ठगीमा जोडिएका मुद्दामा उनले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध पोखरा र बुटवलस्थित उच्च अदालतमा निवेदन दिइसकेका छन्।
कास्कीमा सूर्यदर्शन सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनले ६५ लाख रूपैयाँ धरौटी बुझाएका छन् भने रूपन्देहीको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा १ करोड रूपैयाँ धरौटी राखेर छुटेका हुन्।
अब उनले चितवनको सहारा चितवन सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते गरेको आदेशविरुद्ध पनि उच्च अदालतमा निवेदन दिने तयारी गरेका छन्।
चितवनमा उनीसँग ५४ लाख धरौटी मागिएको थियो।
Shares


प्रतिक्रिया