समाज


कास्कीमा ६५ लाख बुझाएका रवि काठमाडौँमा ६० लाख धरौटीमा छुटे

कास्कीमा ६५ लाख बुझाएका रवि काठमाडौँमा ६० लाख धरौटीमा छुटे

काठमाडौँ जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका रवि लामिछाने। तस्बिर: सरोज बैँजु


नेपालखबर
माघ २, २०८१ बुधबार १९:१९, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा भएका छन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट भएको आदेशबमोजिम उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका हुन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी मागेको थियो। गत बिहीबार उनी उक्त रकम तत्कालै बुझाएर रिहा भएका थिए। 

गत आइतबार काठमाडौँ अदालतमा उपस्थित भएका रवि त्यही दिनबाट काठमाडौँ प्रहरी परिसरको हिरासतमा थिए।

काठमाडौँ अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा रविका समर्थकहरू बाहिर बाक्लो संख्यामा उपस्थित भएका थिए। उनका समर्थकले पीडित सहकारी बचतकर्ताका तर्फबाट बहस गर्ने वकिलमाथि हातपात गरेका थिए। 

यस मुद्दाका २ जना अभियुक्त पहिला नै धरौटीमा छुटिसकेका छन्। पुस २१ गते रविसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

यस मुद्दामा उनीहरूबाट जम्मा २ अर्ब ४१ करोड बिगो दाबी गरिएको छ। 

प्रतिवादी कायम गरिएकामध्ये रवि र उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेकै बेला काठमाडौँ झिकाएर प्रहरीले सरकारी वकिलसमक्ष बयान पनि लिएको थियो। 

यस मुद्दाका अभियुक्तमध्ये जीबी भन्ने गितेन्द्रबाबु राईसहित अधिकांश फरार छन्।

यस मुद्दामा रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ। छविलाई रविलाई भन्दा बढी बिगो तोकिएको छ। छविका नाममा ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ।

रवि र छवि दुवै जना गोर्खा मिडिया नेटवर्कमा आबद्ध थिए। जीबी अध्यक्ष रहेको उक्त कम्पनीमा रवि प्रबन्ध निर्देशक थिए भने छवि उपाध्यक्ष थिए। 

सहकारीको रकम गैरकानुनी तरिकाले गोर्खा मिडिया नेटवर्क नामक कम्पनीमा लगेर बचतकर्तालाई ठगेको मुख्य अभियोग उनीहरूमाथि लगाइएको छ।

अदालतले तत्काल उनी निर्दोष हुन् भन्न नमिल्ने भनी आदेशमा लेखेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad