राजनीति


समझदारीमार्फत दुवै पक्षबाट ‘ईपीजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ : प्रधानमन्त्री ओली

समझदारीमार्फत दुवै पक्षबाट ‘ईपीजी’ प्रतिवेदन बुझ्नेतिर लाग्नेछौँ : प्रधानमन्त्री ओली

नेपालखबर
चैत ७, २०८१ बिहिबार १५:०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै पक्षको समझदारीमार्फत बुझ्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा उनले इपिजी प्रतिवेदन दुवै देशको समझदारी र सहमतिमा बुझ्ने बताएका हुन्।

सांसद बुद्धिमान तामाङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले ईपीजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिए। उनले अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेका बताए।

प्रधानमन्त्री ओलीले ईपीजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी दिए। समझदारीबाट नै समाधान खोजिने भन्दै उनले त्यसले औँल्याउने समस्या एकतर्फले बुझेर र एकतर्फ मात्र कार्यान्वयन गरेर नहुने विषय भएको बताए।

‘समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर हामी लाग्नेछौँ’, प्रधानमन्त्री ओलीले भने। 

नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै उनले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए।

‘विसं २०१७ अघिसम्म देशको नक्सा अहिलेकै जस्तो थियो, त्यसपछि फेरियो। २०७७ असार ४ गते संविधानको दोस्रो संशोधनमार्फत संविधानको अनुसूची ३ मा रहेको नेपालको निशानाछाप अद्यावधिक गरियो’, प्रधानमन्त्री ओलीले भने। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad