मिनी इलेक्सनका रूपमा लिइने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा प्राप्त गरेको नतिजाले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी ३ सय बढी क्याम्पसमा मंगलबार स्ववियु चुनाव भएको थियो।
केही क्याम्पसमा चुनाव हुन बाँकी छ। भएकाहरूको अन्तिम परिणामअनुसार क्रान्तिकारीले ८१ वटा क्याम्पसको स्ववियु अध्यक्ष जितेको केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले जानकारी दिए।
त्यसमध्ये २१ वटामा निर्विरोध र बाँकीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अनेरास्ववियुसँग प्रतिस्पर्धा गरेरै जितेको क्रान्तिकारीका इन्चार्ज समेत रहेका माओवादीका केन्द्रीय सदस्य हिमाल शर्माले दाबी गरे।
यसले निकै उत्साहित बनाएको उनी बताउँछन्। कांग्रेस–एमाले गठबन्धनलाई धक्का दिन सकेको भन्दै माओवादी नेताहरू खुसी व्यक्त गर्छन्।
‘क्रान्तिकारीको ग्राफ बढ्यो, हामी उकालो लाग्यौँ,’ शर्माले नेपालखबरसँग भने, ‘यसपटकको स्ववियु चुनावमा कांग्रेस–एमाले विद्यार्थी संगठनले सयभन्दा बढी क्याम्पसमा गठबन्धन गरेको थिए, त्यसका बाबजुत हामी निकै ठाउँमा जित्न सफल भयौँ।’
स्ववियुमा २८ वर्ष र संगठनमा ३२ वर्षे उमेरहद लगाएकै कारण रुचाएको उनी बताउँछन्।
‘माओवादीले बढाएको सुशासन र भ्रष्टाचार विरुद्धको कदम, सामाजिक न्याय र सम्मृद्धिको नारालाई क्रान्तिकारीमा मत जाहेर गरेर विद्यार्थीले ऐक्यबद्धता जनाए,’ शर्माले थपे, ‘विचारमा प्रष्ट, एकताबद्ध संगठन र व्यवस्थित परिचालनले क्रान्तिकारीको ग्राफ बढेको हो।’
प्रचण्ड प्रधानमन्त्री हुँदा लिएको सुशासन र भ्रष्टाचारविरोधी नीतिकै कारण युवा विद्यार्थीमा क्रान्तिकारीप्रति आकर्षण बढेको हुन सक्ने उनको भनाइ छ।
यसपटक क्रान्तिकारीले सबैजसो ठाउँमा एकल उम्मेदवार बनाएको शर्माले दाबी गरे। यद्यपि, कतिपय ठाउँमा चार दलीय समाजवादी मोर्चाको साथ लिएर पनि क्रान्तिकारीले उम्मेदवारी दिएको थियो। सानो ठिमी क्याम्पस, भक्तपुर र जनप्रशासन क्याम्पस, बल्खुमा त नेविसंघसँग तालमेल गरेको थियो।
माओवादी नेताहरू भने आफू गाउँगाउँ पुगेपछि स्ववियु चुनावसम्म आइपुग्दा त्यसको प्रभाव देखिएको दाबी गर्छन्।
‘जबकि, हारेको क्याम्पसमा समेत हामी निकतम् छौँ। १० मतले हारेका क्याम्पस छन्। पहिला हामी हार्दा निकै तल हुन्थ्यौं। निकतम् प्रतिस्पर्धा गर्ने हैसियतमा क्रान्तिकारी आयो नि अहिले।’
क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले चुनाव भएकामध्ये जनप्रशासन, बानेश्वर बहुमुखी, काठमाडौं इन्जिनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी र जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुरसहित त्रिविका ५ आंगिक क्याम्पस जितेको जानकारी दिए।
उनका अनुसार जनप्रशासन क्याम्पस स्ववियु अध्यक्षमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पस भक्तपुरमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा अपार पराजुली विजयी भएका हुन्।
यसैगरी, त्रिविकै आंगिक पुल्चोक इन्जिनियरिङ क्याम्पस स्ववियु सचिवमा दिवस सापकोटा र थापाथली इन्जिनियरिङ क्याम्पसका स्ववियु सचिवमा जेसिस उपाध्याय विजयी भएको उनले बताए।
उपत्यकाबाहिर चुनाव भएका महत्त्वपूर्ण क्याम्पसमा पनि क्रान्तिकारीको उपस्थिति उत्साहपूर्ण रहेको इन्चार्ज हिमाल शर्माले बताए।
‘भोजपुर बहुमुखी क्याम्पसमा सोबिन तामाङ, विराटनगर नर्सिङ क्याम्पस रोहित ताजपुरिया, कोशी प्रदेशको महत्वपूर्ण मानिने डिग्री क्याम्पस, विराटनगरको अध्यक्षमा प्रितम शाहसहित प्यानल नै र मिक्लाजुङ क्याम्पस मोरङग अध्यक्षमा सुजन घिमिरे विजयी हुनुभएको छ,’ शर्माले भने।

कांग्रेस-एमाले समीक्षा गर्ने
यो खबर तयार पार्दासम्म कांग्रेसनिकट नेविसंघ ९९, एमालेनिकट अनेरास्ववियु ८६, नेकपा एकीकृत समाजवादी ३, नेकपा मसालनिकट अनेरास्ववियु (छैटौँ) २ र स्वतन्त्र २ वटा क्याम्पसमा अध्यक्ष निर्वाचित भएका छन्।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले २ सय क्याम्पस जित्ने लक्ष्य राखेको भए पनि नतिजा त्यसरी नआएको बताए।
‘स्ववियु चुनावको परिणामले हामी धेरै उत्साहित पनि छैनौं तर उत्साहित छौँ,’ शेर्पाले भने, ‘यसबाट हामीले धेरै कुराहरू सिक्नुपर्नेछ। २ सय कलेजमा चुनाव जितिन्छ भन्ने थियो। १२३ वटा जितेका छौँ। पहिलाभन्दा राम्रो भएको छ। अझै पनि ठूला क्याम्पसमा चुनाव नभएकोले केही भन्न सक्तैनौँ।’
अनेरास्ववियुका अध्यक्ष समिक बडालले कतिपय ठूला क्याम्पसमा तालाबन्दीका बाबजुत आएको नतिजालाई उत्साहपूर्वक नै मान्नुपर्ने बताए। केही नयाँ क्याम्पस जिते पनि पुराना गढहरू गुमाउँदा यसको समीक्षा गर्नुपर्ने भएको उनको भनाइ छ।
‘सत्तासँग जोडिएर मात्र गठबन्धन भएका छैनन्, हामीविरुद्ध पनि गठबन्धन बनेका थिए,’ बडालले नेपालखबरसँग भने, ‘परिणामले हामीलाई निराश बनाएको छैन। हामीले गरेका कमजोरीलाई सच्याउने मौका दिएको छ। कतिपय नयाँ क्याम्पसमा हामीले जितेका छौँ। जस्तो कि धौलागिरि क्याम्पसमा २१ वर्षपछि जित्न सफल भयौँ।’
नेविसंघ र अनेरास्ववियु ठूला संगठन मिल्न खोज्दा केही क्याम्पसमा विद्यार्थी अरू विकल्पतिर गएको पनि हुन सक्ने उनको विश्लेषण छ।
‘त्यसलाई अन्यथा लिनुहुँदैन,’ बडालले थपे, ‘यो निर्वाचनको समीक्षा हामी गर्छाैँ। यसबाट हामीले राम्रो कुरा लिन्छौँ।’
अब कति बाँकी छ चुनाव हुन?
त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीका अनुसार, यसपटक त्रिविका आंगिक ६२, सामुदायिक, निजी र सम्बन्धन प्राप्त गरी १ हजार ५३ क्याम्पसमा स्ववियु चुनाव तय भएको थियो।
त्रिविले अनुगमन गर्ने भएकाले आंगिक क्याम्पसमा स्ववियु चुनाव गर्नैपर्ने र तीबाहेकका क्याम्पसलाई कुनै दबाब नरहेको उनको भनाइ छ।
‘त्रिविका ६२ आंगिकमध्ये चैत ५ गते ४० वटामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भयो। दुईवटामा निर्विरोध भयो। बाँकी ३८ वटामा चुनाव नै भएको हो,’ अधिकारीले भने, ‘हिजो चुनाव हुँदाहुँदै पृथ्वीनारायण र पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भयो।’
बाँकी २० वटामा चुनाव गराउन सहमतिको प्रयास जारी रहेको उनको भनाइ छ। पद्मकन्यामा बिहीबार (७ गते) मतदान गर्ने भनिएको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ८ गते गर्ने तय भए पनि पाटन उच्च अदालतले बुधबार मात्र अन्तरिम आदेशमार्फत रोकेको छ। यद्यपि, बिहीबार (७ गते) अदालतले दुवै पक्षलाई छलफलमा बोलाएकाले निकास मिल्ने अपेक्षा निर्वाचन समितिले लिएको छ।
केन्द्रीय क्याम्पसमा नेविसंघका दुई समूहले अलगअलग प्यानल बनाएकाले विवाद अदालतसम्म पुगेको हो।
सिद्धनाथ बहुमुखी क्याम्पस, महेन्द्रनगरमा ९ गते मतदान गर्ने तय भएको छ। क्याम्पसहरूले आफ्नै तवरले तालिका प्रकाशन गरिरहेका छन्।
स्ववियु चुनाव नगरेका अन्य क्याम्पसलाई चैत २० गतेभित्र चुनाव सक्न आफूले निर्देशन दिएको अधिकारीले बताए।
‘हुन त १ हजार ५३ ले स्ववियु चुनाव गर्नुपर्ने हो तर सबैले गर्दैनन्। तीन सय जतिले चुनाव गर्छन् होला, हामीले केही सहयोग गरेका छैनौं। बाध्यकारी छैन। आह्वान मात्र गरेका हौँ,’ अधिकारीले थपे।
Shares

प्रतिक्रिया