राजनीति


परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

नेपालखबर
चैत ६, २०८१ बुधबार १५:२६, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए।मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन्।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज बिहान सो भेटवार्ता भएको हो। ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

त्यस भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्म संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गरिन्।

साथै मन्त्री डा राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विकासका नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन्। साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि साथ र सहयोग अपेक्षित रहेको मन्त्री डा राणाले बताइन्।

त्यसैगरी मन्त्री डा राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले  यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएकी थिइन्। फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad