राजनीति


विपिनको रिहाइका लागि पहलका लागि अमेरिकी राष्ट्रपतिका सुरक्षा निर्देशकसँग परराष्ट्रमन्त्रीको आग्रह

विपिनको रिहाइका लागि पहलका लागि अमेरिकी राष्ट्रपतिका सुरक्षा निर्देशकसँग परराष्ट्रमन्त्रीको आग्रह

नेपालखबर
चैत ५, २०८१ मंगलबार १७:५७, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गरेकी छन्।

भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज ‘साइडलाइन’  भेटवार्ता भएको हो।

सो भेटवार्ताका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिन्। 

विपिनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारसँग आग्रह गरेको स्मरण गराउँदै उनको अझैसम्म रिहाइ हुन नसकेकाले सहयोगको अपेक्षा गरेको बताइन्।

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपिनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए। उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ। विश्वका नेता एवं आफ्ना समकक्षीहरुसँगको भेटमा परराष्ट्रमन्त्री डा राणाले विपिन जोशीको रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छन्।
 
सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउने भनी आश्वस्त गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad