राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निकालिएका पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने राजतन्त्रको एजेन्डा लिएर पार्टी सञ्चालनको पक्षमा थिए भन्दै आरोप लगाएपछि केन्द्रीय सदस्य गणेश कार्कीले जवाफ फर्काएका छन्।
ढकालले केही दिनअघि लामिछानेले पार्टी स्थापना हुनुअघिको कुरा भन्दै भनेका थिए- राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि 'राजतन्त्र' को लाइन लिने कि 'गणतन्त्र'को भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागी कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानु भयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुइ-चारपटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।'
ढकालले राजा ल्याउने वा आउने कुरा राजा बाएर जसलाई ल्याउने हो उसैले नबोलेसम्म नहुने भन्दै आफूले सम्झाएको पनि दाबी गरेका छन्।
सम्झाउँदा रविले भनेको दाबी गर्दै ढकालले लेखेका छन्, 'त्यतिबेला मैले रवि दाइलाई भनेँ- राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ। जसलाई ल्याउन खोजेको हो, उ आफैँले त 'म आउने हो' भन्न पर्यो नि। राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले 'राजतन्त्र'लाई कुनै न कुनै ढङ्गले समेटौँ भनिराख्नु भयो। मैले प्रस्ताव राखेँ, रवि दाइले त्यहिअनुसार राजासँग पनि कुरा गर्नु भयो। मेरो प्रस्ताव थियो - 'राजाको नीजि सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक-एक वटा ठूला स्कुल र अस्पताल खोलौँ। यति घोषणा गरी एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ।' राजाबाट सकारात्मक कुरा आएन। राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ।'
ढकालले लगाएका यस्तो आरोपबारे रास्वपाले अहिलेसम्म आधिकारिक रुपमा कुनै खण्डन गरेको छैन।
केन्द्रीय सदस्य कार्कीले भने आज बिहीबार पार्टीको प्रस्तावनामा नै रास्वपा पूर्ण लोकतान्त्रिक शासन प्रणाली चाहन्छ भन्ने स्पष्ट उल्लेख भएको भन्दै प्रस्तावना सार्वजनिक गरेका छन्।
'प्रस्तावनामा प्रष्ट लेखिएको छ कि रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहन्छ । हजारौं पटक भनेका छौँ कि हामीलाई व्यवस्था हैन, अवस्था फेर्नु छ,'कार्कीले भनेका छन्, 'गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूले दस्तावेज पढिदिनु होला। नेताका भाषण सुनिदिनु होला। दस्तावेज र विचार ऋतु जस्तो फेरिँदैन।'
यस्तो छ रास्वपाको दस्तावेज

Shares

प्रतिक्रिया