राजनीति


विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा आवश्यक छ: जनार्दन शर्मा

विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा आवश्यक छ: जनार्दन शर्मा

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८१ बुधबार १८:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लिखित समाजवादको बाटो कस्तो हुने भन्ने कुरामा वैचारिक अन्योल देखिएको बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधबार गरेको ‘नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विकासको मोडालिटी नै प्रस्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको उनको भनाइ थियो।

कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर पनि उनले गरे। उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अंगहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए।

सत्तामा पुगेका हरेक नेतालाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको र अबको विकल्प राजनीतिमा नभएर कर्मचारीतन्त्रमा चाहिएको धारणा उनले राखे।

‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योल छ,’ उनले भने, ‘पहिलो कुरा प्रस्टै छ कि विकासको मोडालिटी के हो त ? बजेट खर्च कसरी गर्ने? सही गर्नेले सही गर्दैन, कसरी खर्च गर्ने? सम्भवै छैन। मैले प्रधानमन्त्रीजीहरू शेरबहादुर देउवा र प्रचण्डलाई भनेको थिएँ, टेबुल-टेबुलको शासन छ यहाँ। तपाईंहरू शासन गर्नुस् न भनेको थिएँ। उहाँहरू शासन गर्नुहुन्न। प्रधानमन्त्रीले गरे पनि एउटा टेबुलको शासन गर्नुहुन्छ। अरु सयौँ टेबुलहरू छन्। मुख्य कुरा राज्य पुनःसंरचनाको थियो। त्यतिबेला नै आग्रह वा  पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ। हाम्रा राज्य सत्ताका कतिपय अंगहरूलाई  हामीले यथास्थितिमा राख्यौँ र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि, उनको गाइडेन्समा चले? कुरा यही हो। म वा अर्को, नेताहरू कसले चलायो? पुरानो ब्युरोकेसीले चलायो। उनीहरूले न भिजन ल्याए, न बुद्धि-विवेक ल्याए। समस्या त्यसैमा छ। विकल्प त्यसमा चाहिएको छ।’

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए। वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरूले दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad