राजनीति


रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल

रवि दाइ राजतन्त्र समातेर जाने लाइनमा हुनुहुन्थ्यो: डा. मुकुल ढकाल

रवि लामिछाने र मुकुल ढकाल


नेपालखबर
फागुन २८, २०८१ बुधबार ८:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महासचिव डा. मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन्। 

रास्वपाबाट केही समयअघि नै निकालिएका ढकालले सामाजिक सञ्जालमार्फत राजतन्त्रका विषयमा रविले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कुराकानीसमेत गरेको दाबी गरेका छन्।

तर आफूले राखेको प्रस्तावअनुसार पूर्वराजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गरिएको ढकालको भनाइ छ। 

उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि ‘राजतन्त्र’ को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चारपटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो। त्यतिबेला मैले रवि दाइलाई भने,  ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ। जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त 'म आउने हो' भन्न पर्‍यो नि!’ राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले  ‘राजतन्त्र’लाई कुनै न कुनै ढंगले समेटौँ भनिराख्नुभयो। मैले प्रस्ताव राखे, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नुभयो। मेरो प्रस्ताव थियो- ‘राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तीमा हालका प्रदेश राजधानीमा एक-एक वटा ठूला स्कुल र अस्पताल खोलौँ। यति घोषणा गरी एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ।’ राजाबाट सकारात्मक कुरा आएन। राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गर्‍यौँ।’

रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेयता मुकुलले सभापति रविविरुद्ध विभिन्न आरोप लगाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad