राजनीति


प्रभु साहको प्रश्न : सामाजिक सञ्जालका सञ्चालकलाई नियन्त्रण गर्ने की प्रयोगकर्तालाई?

प्रभु साहको प्रश्न : सामाजिक सञ्जालका सञ्चालकलाई नियन्त्रण गर्ने की प्रयोगकर्तालाई?

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:३४, काठमाडौँ

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विभिन्न विदेशी इन्टरनेट एप्सहरूले वर्षेनी नेपालबाट खरबौँ रकम विदेश लगी राख्दा केपी शर्मा ओली नेतृत्वको सरकार किन मौन बसेको भनी प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद साहले संसारका अन्य मुलुकले जस्तै समाजको आवश्यकता अनुसार एप्स बनाउने नेपाल सरकारको आफ्नै योजना छ कि छैन? भन्ने प्रश्न समेत गरेका छन्।

‘सामाजिक सञ्जाल फेसबुक, युटुब, ट्वीटर, गेमिङ, व्यापारी एप्स, सवारीसँग सम्बन्धित इनड्राइभ लगायतका एप्सबाट वर्षेनी नेपालबाट खर्बौं विदेशिँदै गइरहेको छ। यो रोक्ने योजना सरकारसँग छ कि छैन?’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘नेपाल सरकारले आफै एप्सहरु निर्माण गर्नै नसक्ने हो? विदेशी एप्स जसरी हामीले चलाउँछौँ के हामीले निर्माण गरेको एप्सहरू विदेशीले चलाउन नमिल्ने हो र?’

अहिलेको अवस्थामा व्यापारी र बैंकबाट जो ऋण लिइन्छ त्यसको ब्याज वापत जसरी नेपाली रुपैयाँ विदेशिँदै गइरहेको छ त्यसको कयौँ गुणा बढी विदेशी एप्सहरूले नेपाली रुपैयाँ विदेश गइरहेकाले त्यसलाई रोक्न सरकारसँग के योजना छ? भन्दै उनले प्रश्न उठाए।

सरकारले ति एप्सहरूलाई नियमन गर्नुपर्ने भए पनि नियन्त्रण गर्ने र नेपालीहरुको मुख थुन्नका लागि सामाजिक सञ्जाल सम्बन्धीको विधेयक ल्याएर संविधानमा भएको वाक स्वतन्त्रतालाई हनन गर्न खोजेको आरोप उनले लगाए।

‘सरकारले जुन सामाजिक सञ्जाल सम्बन्धी विधेयक अगाडी बढाएको छ त्यो सत्ता जोगाउनका लागि हो? सामाजिक सञ्जालका सञ्चालकलाई नियमन गर्न खोजिएको हो की प्रयोगकर्तालाई नियन्त्रण गर्नका लागि हो? सामाजिक सञ्जाललाई नियमन गर्नुको साटो नियन्त्रण गर्न खोज्ने दिशामा जुन सरकार अगाडी बढेको छ, त्यो चिन्ताजनक विषय हो। खेदजनक विषय हो’, साहले भने।

सामाजिक सञ्जालका सञ्चालकलाई नियन्त्रण गर्ने की प्रयोगकर्तालाई भन्ने प्रश्न गम्भिर रुपमा उठेको उनले बताए। प्रयोगकर्तालाई प्रतिक्रियाविहीन बनाईदिने सामाजिक सञ्जालमा लाईक, कमेन्ट, सेयर गर्न पनि नहुने गरे जेल जानुपर्ने गरी बिधेयक अगाडी बढाउँनुले सरकार मनोमानी अगाडी बढन खोजेको आरोप उनले लगाए।

यदी सरकारको आलोचनाबाट डराएको हो भने सरकारले सामाजिक सञ्जालका सञ्चालकसँग कुरा गरेर सामाजिक सञ्जालमा रहेको लाइक, सेयर, कमेन्ट जस्ता अप्सन नै हटाउन लाग्दा पनि राम्रो हुने कटाक्ष उनले गरे।

‘सरकारले सामाजिक सञ्जालका सञ्चालकसँग नै कुरा गरेर त्यसमा रहेको लाइक, कमेन्ट, सेयर जस्ता अप्सन हटाउन लगाइदेओस्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad