राजनीति


स्ववियु चुनावमा सत्तारुढ दलबीच तालमेलको प्रयास, क्रान्तिकारीलाई समाजवादी मोर्चाको साथ

स्ववियु चुनावमा सत्तारुढ दलबीच तालमेलको प्रयास, क्रान्तिकारीलाई समाजवादी मोर्चाको साथ

अखिल क्रान्तिकारीका विजय सापकोटा, नेविसंघका दुजाङ शेर्पा र अनेरास्ववियुका समिक बडाल


सागर न्यौपाने
फागुन २६, २०८१ सोमबार २१:५३, काठमाडौँ

भन्नलाई विद्यार्थी संगठनहरूले यसपटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव एक्लाएक्लै लड्ने भन्दै आएका छन्। तर, सबैजसो संगठनले गठबन्धन गर्ने भएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावमा गठबन्धन बनाउने प्रयास गरिरहेका छन्। यसका लागि कांग्रेसनिकट नेपाल विद्यार्थी संगठन र एमालेनिकट अनेरास्ववियुबीच वार्ता भइरहेको छ।

कांग्रेसका एक केन्द्रीय नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार दुवै संगठनलाई मिलेर चुनावमा जान निर्देशन दिइएको छ।

‘गठबन्धन नभन्ने, तर मिल्दाखेरी सत्तारुढ दल मिल्ने,’ ती नेताले नेपालखबरसँग भने, ‘आवश्यकता अनुसार जहाँ जसलाई जोसँग मिलेर सजिलो हुन्छ, त्यसैगरी जाने। तर, सकभर सत्तामा रहेका साथीहरूकै बीचमा मिलेर जान सुझाव दिइएको छ।’

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने समाजवादी मोर्चामा रहेका दलसँग गठबन्धन बनाएको छ। नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीनिकट विद्यार्थी संगठनबीच क्रान्तिकारीले तालमेल गरेको हो। 

६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव तोकिएको छ। 

क्रान्तिकारीका इन्चार्ज समेत रहेका माओवादी केन्द्रीय सदस्य हिमाल शर्माले विचार मिल्नेबीच मिलेर जाने सहमति भएको बताए।

‘अनेरास्ववियु र नेविसंघ क्रान्तिकारीका विरुद्ध मिलेर आएका छन्। त्यसका विरुद्ध हामी अगाडि बढेका छौँ,’ उनले भने, ‘उनीहरू मिलेर आउँदा क्रान्तिकारीलाई झन् धेरै जोस र जाँगर आएको छ। यसले हाम्रो शक्ति अझै बलियो, मजबुत बनाएको छ। हाम्रो आन्तरिक अन्तर्विरोध कम हुँदै जानेछ। हामीले यसलाई अवसरका रूपमा लिएका छौँ। क्रान्तिकारी र समाजवादी भन्ने त छँदैछ, मूलतः हामी एक्लै जान्छौँ। मिल्ने ठाउँमा मिल्न लगाउँछौँ।’

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले गठबन्धन नहुने दाबी गरे। यद्यपि, अहिलेसम्म उम्मेदवारी टुंगो लागेको बारे उनले खुलाउन चाहेनन्।

‘हामी सिंगल सिंगल लड्ने कुरा भएको छ। देशभरि हामी एक्लै लड्छौँ,’ उनले भने, ‘कांग्रेस–एमाले गठबन्धन सम्भव छैन। तल सहकार्य गरे हामी स्वीकार गर्छाैँ।’ 

कतैकतै नेविसंघ र क्रान्तिकारीबीच पनि चुनावी तालमेल भएको उनले बताए। 

‘काभ्रेको एउटा क्याम्पसमा त अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारी मिलेछन्,’ बडालले भने।  

उता, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेको बताए।  

‘अहिलेसम्म गठबन्धन गर्ने कुरा छैन, सिंगल सिंगल लड्ने हो,’ शेर्पाले भने। 

समाजवादी मोर्चासँग मिलेर चुनावमा लड्ने भएकोले क्रान्तिकारीले ठूला र विद्यार्थी धेरै भएका क्याम्पसमा उम्मेदवार टुंगो लगाइसकेको अध्यक्ष विजयप्रकाश सापकोटाले बताए।

‘अस्कलमा विश्वराम शर्मा, त्रिविमा प्रवीण दाहाल, आरआरमा संगमकुमार लामा, पुल्चोक इन्जिनियरिङमा  रश्मि लम्सालसहित धेरै क्याम्पसमा उम्मेदवार टुंगो लगाइसकेका छौँ,’ उनले भने, ‘अन्य ठाउँको पनि आज बेलुका अबेरसम्म बसेर लगभग टुंग्याउँछौँ। गठबन्धनबारे निर्णय जिल्ला र स्थानीय तहलाई दिइएको छ।’

कांग्रेसले दिएको महत्त्व
स्ववियु चुनावलाई कांग्रेसले कति महत्त्व दिएको छ भन्ने बुझ्न नेताहरूलाई दिएको जिम्मेवारी हेर्नुपर्छ। 

सात प्रदेशमा सात कमान्डर, संघमा सहमहामन्त्री किशोरसिंह राठौरको नेतृत्व छ, त्यो भन्दा माथि विश्वप्रकाश शर्माले निर्देशन गरिरहेका छन्। आफू अनुकूलको चुनावी तालमेल गर्न उनैले सुझाव दिएको कांग्रेसका एक केन्द्रीय तहका नेता बताउँछन्।  

‘आफूले जित्नै पर्ने भए, स्थानीय परिवेश अनुसार सहकार्य गर्ने भन्ने छ,’ ती नेताले भने, ‘मिल्न नसके स्वस्थ प्रतिस्पर्धा गर्ने।’  

सानो ठिमीमा नेविसंघ र क्रान्तिकारी गठबन्धन
सानो ठिमी क्याम्पसमा क्रान्तिकारी र नेविसंघबीच तालमेल भएको छ। क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष ममता अधिकारीले उम्मेदवार बाँडफाँटको सहमति भइसकेको बताइन्। सो क्याम्पसमा अनेरास्ववियुसँग प्रतिस्पर्धा हुने उनले बताइन्। 

‘अध्यक्ष र कोषाध्यक्ष हामीले लिएर सचिव नेविसंघलाई दिने सहमति भएको साथीहरूले बताउनुभएको छ। यद्यपि, भोलिसम्म के आउँछ हेरौँ,’ उनले भनिन्, ‘सानो ठिमीमा हामी एकल पनि राम्रै हो, हामीले जितिराखेको हो। केही साथीलाई मिलाएर लैजाँदा हुन्छ भन्ने छ।’ 

क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले यसपटक विद्यार्थीलाई निर्णय गर्ने अधिकार दिइएको बताए।

‘समाजवादी मोर्चाबाहेक अरुसँग मिल्ने नभए पनि स्थानीय आवश्यकता अनुसार साथीहरूले गठबन्धन गर्न सक्छन्, यसमा केन्द्रीय नीति छैन,’ उनले भने।  

रास्वापालाई लागेन स्ववियु
राष्ट्रिय स्वतन्त्र पार्टीले स्ववियु चुनावमा संगठन दर्ता गराएको छैन। रास्वपाले कुनै पनि पेसागत, विद्यार्थीमा राजनीति नगर्ने नीति लिएको बताएको छ।

यद्यपि, थापाथली इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र समूह बनाएर दर्ता गरेका छन्। यद्यपि सो समूह रास्वपाको आधिकारिक नभएको नेताहरू बताउँछन्।  चैत ५ गते हुने चुनावको लागि मंगलबार ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। 

यस्तै, चैत ५ गते एकै दिन त्रिविका देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव तोकिएको छ। निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ। स्ववियु चुनावमा भाग लिन चाहने २२ वटा संगठनले नाम दर्ता गरेका छन्। 

२ वर्षे कार्यकाल हुने स्ववियु पदाधिकारीको २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad