आइतबार काठमाडौँमा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालेको जुलुसमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेपछि आलोचना भइरहेको छ।
यसै क्रममा सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पनि राजावादी जुलुसमा प्रयोग गरिएको भारतीय जनता पार्टी (भाजपा) का नेतासमेत रहेका योगी आदित्यनाथको तस्बिर सार्वजनिक गर्दै सोमबार बिहानै कटाक्ष गरेका छन्।
आइतबारको दृश्यले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको टिप्पणी रिजालले गरेका छन्।
‘यो सात साल होइन। त्यतिबेला भागेर भारतीय दूतावासमा शरण लिँदै दिल्ली पुगेका त्रिभुवनलाई भारतले गद्दीमा फर्काइदिएझैँ अहिले जनआन्दोलनबाट सत्ताच्यूत भएका ज्ञानेन्द्रलाई कसैले फर्काइदिन्छ भनेर मुख नमिठ्याए हुन्छ’, एमाले नेता रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन योगीको तस्बिर बोकेर प्रदर्शन भएको छ, तिनैको राज्य उत्तर प्रदेशमा ५० करोड मानिसले कुम्भमा भाग लिँदा ‘हिन्दू सम्राट’ भनेर दाबी गर्ने ज्ञानेन्द्रले कोसिस गर्दा पनि निम्तो नपाइएको भर्खरै हो। गणतन्त्रको विरोध गर्दा ‘विदेशीले ल्याइदिएको’ भनेर जनताको मानमर्दन गर्ने तर गुमेको सत्ता फर्काउन विदेशीको दलाली गर्ने कुराले कथित राष्ट्रवादको मुखुण्डो राम्रैसँग उतारिदिएको छ।’
Shares

प्रतिक्रिया