राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजावादी खतराका विरुद्ध लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिबीच गठबन्धन बन्नुपर्ने बताएका छन्।
आइतबार एक वक्तव्य जारी गरी अध्यक्ष केसीले राजावादीहरूका गतिविधिबाट गणतन्त्र र धर्मनिरपेक्षताका साथै जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि खतरा बढेर गएको बताएका छन्।
‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँचदलीय गठबन्धन बनेको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारण प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ।’
अहिले देशमा जुन प्रकारको परिस्थिति सिर्जना भएको छ, त्यसमा सरकारले अपनाएका गलत नीति, कुशासन वा भ्रष्टाचारको ठूलो भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ।
अध्यक्ष केसले भनेका छन्, ‘त्यसरी जनतामा पैदा भएको असन्तोष र स्वयम् गणतन्त्रप्रति बढ्दै गएको वितृष्णाका कारणले पनि पुनरुत्थानवादी शक्तिलाई धेरै बल पुगेको छ तर नेपाली जनताले युगौँयुगदेखि सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु अहिले नेपालको राष्ट्रिय र ऐतिहासिक आवश्यकता बनेको छ। त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिबिच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ।’
अमेरिकाबाट अवैध प्रवासीको नाममा नेपालीलाई हत्कडीसहित नेपाल फिर्ता पठाउनुलाई राजमोले अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएको बताएको छ। यस सन्दर्भमा मानव तस्करका कारबाही छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।
जनमोर्चाले २०८१ चैत २४ गतेदेखि ३० गतेसम्म संघीयताका विरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने उल्लेख गर्दै त्यो आन्दोलनलाई सहयोग गर्नका जनतासित अपिल पनि गरेको छ।
Shares

प्रतिक्रिया