कारोबार


नेप्सेको सीईओमा १० जनाको आवेदन, कार्यकाल सकेका कार्की पनि इच्छुक

नेप्सेको सीईओमा १० जनाको आवेदन, कार्यकाल सकेका कार्की पनि इच्छुक

नेपालखबर
फागुन २५, २०८१ आइतबार १७:३३, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा १० जना उम्मेदवारको आवेदन परेको छ।

अर्थ मन्त्रालयका अनुसार आइतबारसम्म १० जनाको आवेदन परेको हो। 

अर्थ मन्त्रालयले नेप्सेको सीईओमा फागुन १२ गते आवेदन माग गरेको थियो। तर आवेदन समय सकिसक्दा समेत एक जनाको मात्रै आवेदन परेपछि मन्त्रालयले थप ७ दिन समय थपेको थियो। थपिएको समयमा ९ जनाले सीईओको लागि आवेदन दिएका हुन्।

मन्त्रालयका अनुसार आवेदन दिनेमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यसहित बद्री प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी, चूडामणि चापागाईं, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बस्याल र मुकुन्दराज जोशी छन्।

कार्की भर्खरै सीईओको कार्यकाल सकेका व्यक्ति हुन्। उनी फेरि पनि सीईओ बन्न इच्छुक देखिएका छन्। त्यसैगरी आवेदन दिएका बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकका सीईओ हुन्।

उनले ०७८ मा धितोपत्र बोर्डको अध्यक्षमा पनि आवेदन दिएका थिए। तर संक्षिप्त सूचीमा भने परेका थिएनन्। 

मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ। समितिले उम्मेदवारको व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंकसम्म दिन सक्नेछ। समग्रमा उम्मेदवारको अंकमा १ सय छ।

सोही अंकमा आधार रहेर सिफारिस समितिले उम्मेदवारबाट सीईओ नियुक्तिका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ।

सिफारिस समितिले पहिलो चरणमा आवेदन परेका उम्मेदवारहरूबाट पाँच जनालाई व्यावसायिक कार्ययोजनाका प्रस्तुतीकरणका लागि छनौट गर्नेछ। 

प्रस्तुतीकरणबाट उमेदवारले प्राप्त गरेको प्राप्तांकअनुसार समितिले पुनः ५ जनाबाट तीन जनाको नाम छनौट गरेर मन्त्रालयलाई एक जना नियुक्तिका लागि सिफारिस गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad