राजनीति


मधेसवादी दलहरू अवसरवादको दलदलमा फसे : प्रचण्ड

मधेसवादी दलहरू अवसरवादको दलदलमा फसे : प्रचण्ड

नेपालखबर
फागुन २४, २०८१ शनिबार २०:५६, रौतहट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशवादी दलहरू अवसरवादको दलदलमा फसेको आरोप लगाएका छन्।

रौतहटको परोहा नगरपालिकास्थित लौकाहा बजारमा शनिवार आयोजित तराई–मधेश जागरण अभियानअन्तर्गतको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेशवादी दलहरू अवसरवादको दलदलमा फसेको आरोप लगाएका हुन्।

अध्यक्ष दाहालले मधेशी जनताको हक–अधिकारका लागि माओवादी केन्द्र निरन्तर लड्दै आएको र भविष्यमा पनि उनीहरूकै पक्षमा खडा हुने प्रतिबद्धता व्यक्त गरे। उनले मधेश केन्द्रित दलहरूले सत्ताको खेलमा अल्झिएको र जनतासँगको सम्बन्ध कमजोर बनाएको बताए।

अध्यक्ष दाहालले हुलाकी मार्ग हुँदै मधेशी जनताको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको उल्लेख गर्दै शिक्षा, सिंचाइ, यातायात, स्वास्थ्यजस्ता आधारभूत सुविधामा अझै सुधार गर्न आवश्यक रहेको बताए।

उनले ती समस्याहरू समाधान गर्न माओवादी केन्द्र दृढ भएर लाग्ने आश्वासन दिए। उनले तराई–मधेशमा बगेको १ हजार ३०० शहीदको रगतकै कारण देशमा गणतन्त्र स्थापना भएको स्मरण गराउँदै शहीदहरूको योगदान बिर्सिन नहुने बताए।

उनले विकासबाट बञ्चित वर्गहरूको पक्षमा माओवादी केन्द्र निरन्तर लड्ने प्रतिज्ञा गरे। अध्यक्ष दाहालले गौर, दुर्गाभगवती गाउँपालिका तथा अन्य क्षेत्रका कार्यकर्तासँग भेटघाट गरेका थिए। 

गरुडामा स्थानीय व्यापारीहरूसँग अन्तरक्रिया गर्दै उनले व्यापारिक वातावरण सुधार गर्ने विषयमा छलफल गरेका थिए। गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउँदै मिलको संरक्षणका लागि हस्तक्षेप गर्न आग्रह गरेका थिए। 

दाहालले सार्वजनिक सम्पत्तिको रक्षा गर्न सरकार सधैँ प्रतिबद्ध रहने विश्वास दिलाए। 

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख अग्नीप्रसाद सापकोटालगायतका नेताहरूले पार्टी बलियो बनाउने धारणा राखेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad