राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाएका छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए।
गौतमले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे। उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजारौँ सर्वसाधारण प्रभावित हुने गरेको बताए।
उनले भने, ‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ। नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ। उपरोक्त अवस्थालाई खास गरी विकास र निर्माणको कामलाई अगाडि बढाउँदा नेपालले कुनै प्रकारको नजरअन्दाज गर्न मिल्दैन। तर नेपालको यो भूगर्भिक संवेदनशिलतालाई आज र अगाडिका कुनैपनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन्।’
उनले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशील भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया