राजनीति


प्रधानमन्त्रीसिहत सबै मन्त्री फेल, पदमा बस्ने नैतिकता छैन : प्रभु साह

प्रधानमन्त्रीसिहत सबै मन्त्री फेल, पदमा बस्ने नैतिकता छैन : प्रभु साह

नेपालखबर
फागुन १९, २०८१ सोमबार १६:२२, काठमाडौँ

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन्। साहले सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै पदमा बस्ने नैतिकता नभएको बताएका हुन्।   

‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याबिनेटमा आधाभन्दा बढि मन्त्रीहरू नै फेल भएका छन्,' उनले भने, 'यो फेलियरहरूको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’

प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरूको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन्। प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक पाएका थिए। 

साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे। साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम् प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे। 

पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए। 

‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँका अघि हामी सांसदहरूको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन। उहाँ संसद्, संविधान र सडक मास्न उद्धत हुनुहुन्छ,' उनले भने, 'संसद् छलेर अध्यादेश शासनको आतंक मच्चाउनुभएको छ, तर आँफैले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन्। अध्यादेश पारित गराउने सामान्य बहुमत पनि नभएको कुरा पुष्टि भैसकेको छ, नत्र एक महिना बितिसक्दापनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेस हुन सकेन? म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुई तिहाई कता गायब भयो?’

उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको उल्लेख गर्दै ७ महिना व्यतित हुँदा पनि चालु आर्थिक वर्षमा ७ खर्ब पनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए। 

साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे। उनले सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन्।

उनले नेपालको विदेश सम्बन्ध विस्तारै बिग्रिरहेको पनि टिप्पणी गरे। भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशको लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको उनको भनाइ छ। भारतसँगको सम्वाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad