खेल


नवनियुक्त मुख्य प्रशिक्षक भन्छन् : नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छु

नवनियुक्त मुख्य प्रशिक्षक भन्छन् : नेपाललाई साफ च्याम्पियनसिप दिलाउन चाहन्छु

नेपालखबर
फागुन १९, २०८१ सोमबार १६:३४, काठमाडौँ

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले आफ्नो मूल उद्देश्य नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु रहेको बताएका छन्।

सोमबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले नेपाललाई एसिया कपमा छनोट गराउने प्रयास गर्ने पनि बताए।  
‘हामी अब मैत्रीपूर्ण खेलसँगै एसियन कप छनोटमा ध्यान केन्द्रित हुनेछौँ। नेपाललाई एसिया कपमा छनोट गराउन हर सम्भव प्रयास गर्नेछु,' उनले भने, 'एसिया कपमा नपुगे पनि टोलीलाई साफ च्याम्पियनसिप भने दिलाउन सक्छु भन्ने विश्वास छ।’

उनले विदेश पलायन भएका खेलाडीलाई फर्किन पनि आग्रह गरे। नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको र धेरैभन्दा धेरै सफलताको प्रयास गर्ने बताए।

‘नेपालमा फुटबल क्रेज अविश्वसनीय रहेको पाएँ। टोलीलाई धेरैभन्दा धेरै सफलता दिलाएर समर्थक खुसी पार्न चहाँछु,’ उनले भने। 

उनले बल कन्ट्रोलदेखि ट्रान्जिसनमा केही सुधार गर्नुपर्ने भन्दै उनले उच्च मनोबलका साथ खेल्न जरुरी रहेको बताए। रसले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग एक वर्षको सम्झौता गरेका छन्। पूर्वप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिममा सकिएको थियो।

अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन्। रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव छ। उनी २०२० देखि २०२३ सम्म कोरियाको मुख्यप्रशिक्षक थिए। त्यस्तै स्विडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई प्रशिक्षण दिएको अनुभव पनि उनीसँग छ।

रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन्।

विश्वभरबाट ४०० सयको आवेदन परेकोमा एन्फाले सुरुमा २० जनाको छनोट गरेको थियो। त्यसपछि २० बाट पाँच जना छानिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad