राजनीति


झापामा रिसाएर हिँडेका नारायणकाजी, सुनसरीमा हाँस्दै अभियानमा पुगे

झापामा रिसाएर हिँडेका नारायणकाजी, सुनसरीमा हाँस्दै अभियानमा पुगे

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:३७, विराटनगर

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सुनसरीमा आइपुगेका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको क्रममा उद्घाटन कार्यक्रममा नै रिसाएर हिँडेका श्रेष्ठ बिहीबार सुनसरीको कार्यक्रममा टुप्लुक्क पुगेका थिए। 

झापाको बनियानीमा गत सोमबार उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा कार्यक्रम सञ्चालकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई रोक्न खोजेको भन्दै उनी आक्रोशित भएका थिए। एकाएक रिसाएका श्रेष्ठले कार्यक्रमलाई सम्बोधन नै नगरी मञ्चबाट बाहिरिएका थिए। 

नारायणकाजी श्रेष्ठले पोडिएम नजिकै उभिएका कार्यक्रमका सञ्चालक माओवादी पार्टी झापा जिल्ला संयोजक राजु आचार्यसँग रिसाएका थिए। 

झापामा भएको कार्यक्रमलाई छाडेर हिँडेका श्रेष्ठ ३ दिन पछि कार्यक्रममा सहभागी भएका हुन्। सुनसरीको हरि नगर गाउँ कमिटीले आयोजना गरेको मुस्लिम समुदायसँगको जनभेट कार्यक्रममा उनी पुगेका हुन्। त्यसपछि श्रेष्ठ प्रचण्डसँगै देखिएका छन्।  

कार्यक्रममा फर्किएका श्रेष्ठ केही मुस्कानमा देखिन्थे। झापामा रिसाएको बारेमा सामाजिक सञ्जालमा श्रेष्ठको आलोचना भएपछि उनले चितवनमा पुगेर माफी मागेका थिए।  

सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित कार्यक्रम पछि श्रेष्ठ सँगै देखिएका छन् । कार्यकर्ताको तीव्र दबाबको बिच अभियानमा सहभागी हुन आए पनि उनले कार्यक्रममा अहिलेसम्म सम्बोधन गरेका छैनन्।  

कार्यक्रमलाई प्रचण्डले नै सम्बोधन गर्दै आएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याज पीडितको समस्या समाधान गर्न आफूहरूले कानुन बनाए पनि अहिलेको सरकारले कार्यान्वयन नगरेको आरोप लगाए। माओवादी नेतृत्वको सरकारले थालेको सुधारात्मक कार्य रोकेर यो सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको भन्न भ्याए।  

‘तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै हो,’ उनले भने, ‘लाखौँ जनता एक ठाउँमा उभिने हो भने भ्रष्ट राजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिन्छ।’

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताए। देबानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै उनले जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्याङ्कन गरेको बताए। 

माओवादी केन्द्रले अब केहीबेरमा इनरुवामा जनसभा गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad