थाहा थियो, ६ माघ (१९ जनवरी) मा हमास–इजरायलबीच युद्धविराम सुरु भए पनि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशी सुरुका तीन हप्ता रिहा हुने छैनन्। किनकि युद्धविराम सुरु भएको तीन हप्तासम्म विपिनलाई रिहा गर्ने विषय न हमासको प्राथमिकतामा थियो, न त इजरायलको नै।
सुरुवाती तीन हप्ताभित्र ३३ इजरायली बन्दी रिहा हुने र बदलामा अलिक ठूलो संख्यामा प्यालेस्टिनी बन्दी रिहा हुने सर्तसहित दुई पक्षले युद्धविराम गरेका थिए। सुरुका तीनहप्ता विपिनको रिहाइको सट्टा आआफ्ना बन्दी रिहाइलाई प्राथमिकता दिएका कारण त्यो अवधिमा विपिन छुट्ने कुनै गुन्जायस थिएन।
तर, हमास–इजरायलबीच युद्धविराम सुरु भएको गत शनिबार ६ हप्ता बितिसकेको छ। यो ६ हप्ताको अवधि भनेको दुई पक्षबीचको ९० दिने युद्धविरामको पहिलो चरण हो। पहिलो चरण बित्दै गर्दा हमास–इजरायलबीचको युद्धविराममा गतिरोध उत्पन्न भएको छ।
युद्धविरामको पहिलो चरण सकिनै लाग्दा हमासले आफ्नो कब्जामा रहेका ६ जना इजरायली बन्दीलाई मुक्त गरेको थियो। बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६ सय प्यालेस्टिनीहरूलाई रिहा गर्नुपर्ने थियो। तर, बन्दी रिहा गर्न इजरायलले आनाकानी गरेपछि फेरि युद्धविराम धरापमा पर्ने हो कि भन्ने त्रास फैलिएको छ।
पहिलो चरणमा रिहा हुनुपर्ने प्यालेस्टिनी बन्दी रिहा नहुनु, दोस्रो चरणको युद्धविराम कार्यान्वयनका लागि दुई पक्ष वार्तामा बस्न नसक्नु र आरोप–प्रत्यारोप बढ्नुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको यथार्थ स्थितिको जानकारी हासिल गर्ने विषय थप अन्योलमा परेको छ। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार बुधबार इजरायलले प्यालेस्टिनी बन्दी छाड्ने सहमति दिएको छ।
इजरायलमाथि २० असोज २०८० मा गरेको आक्रमणको क्रममा हमासको कब्जामा परेका विपिन जीवित रहेको दाबी इजरायलले पटक–पटक गर्दै आएको छ। इजरायली दाबीका आधारमा नेपाली अधिकारीहरूले पनि विपिन जीवितै रहेको आशा प्रकट गर्दै आएका छन्।
परराष्ट्रमन्त्री डा. राणाले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको २९ पुुसको बैठकमा जोशी जीवितै रहेको दाबी गरेकी थिइन्।
‘विपिन भाइ सकुशल हुनुहुन्छ,’ बैठकमा उनले भनेकी थिइन्, ‘त्यसैले, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु।’
इजरायली सेनाले पनि एक वर्षअघि विपिन जीवितै रहेको सूचना प्राप्त भएको दाबी गरेको थियो। विपिन अपहरणमा परेको एक महिनापछि २२ नोभेम्बर २०२३ (६ मंसिर २०८०) मा इजरायली सेनाले सार्वजनिक गरेको भिडिओ फुटेजमा हमासको कब्जामा एक युवक देखिन्थे, जो नेपाली विद्यार्थी विपिन जोशी रहेको इजरायली सेनाको दाबी थियो।
गाजास्थित अल–शिफा अस्पतालको सो भिडिओ फुटेजमा हमासको कब्जामा रहेका विपिन टिसर्ट, हाफप्यान्ट र चप्पल लगाएको अवस्थामा देखिन्छन्। हमास लडाकुहरूले उनलाई एक स्थानबाट अर्काे स्थानमा सारिरहेको देखिन्छ।
तीन महिनाअघि नेपालका लागि इजरायली राजदूत सामुलिक एरी बासले पनि विपिन जीवितै रहेको सूचना आफूलाई प्राप्त भएको बताएका थिए।
‘अरबी देशको स्रोतबाट विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेपछि राजदूत बासले मंसिर तेस्रो साता भनेका थिए, ‘उनी छिट्टै नेपाल फर्कने छन्।’
इजरायली पक्षका यस्तै सूचना र दाबीका आधारमा परराष्ट्रमन्त्री डा. राणाले विपिन जोशी जीवितै रहेको र छिट्टै फर्कने आशा व्यक्त गरेकी थिइन्।
इजरायली–नेपाली दुवै पक्षले विपिन जीवित रहेको दाबी गरेपनि उनको रिहाइमा भने कुनै सफलता प्राप्त हुन सकेको छैन।
पछिल्लो समय इजरायली पक्षले हमासले रिहा गर्नुपर्ने बन्दीहरूको जुन सूची बनाएको छ, विपिनको सुरक्षित रिहाइका सन्दर्भमा त्यो सूची त्यति आशाप्रद छैन।
२० असोज (२०८०) को आक्रमणका क्रममा हमासले कब्जामा लिएका करिब २ सय ५० मध्ये रिहा हुन बाँकी ५७ जना छन्। अन्य कतिपय रिहा भइसकेका छन्। कतिपयको बन्दी अवस्थामै इजरायली आक्रमण वा अन्य कारणले मृत्यु भइसकेको छ।
जहाँसम्म हस्तान्तरण गर्न बाँकी ५७ जनाको सन्दर्भ हो, उनीहरूलाई इजरायली पक्षले ‘जीवित’, ‘स्थिति अज्ञात’ र ‘मृत्यु भइसकेका’ गरी तीन श्रेणीमा विभाजन गरेको छ।
‘३० जना बन्दीहरू अहिले पनि जीवित अवस्थामा छन् भन्ने इजरायली पक्षको भनाइ छ’ स्रोतले भन्यो, ‘उनीहरूले पाएको सूचनाका आधारमा २० जनाको मृत्यु भइसकेको विश्लेषण इजरायली पक्षको देखिन्छ। बाँकी ७ जनालाई उनीहरूले ‘स्थिति अज्ञात’ भन्ने स्थितिमा राखेका छन्।’
जहाँसम्म विपिन जोशीको सन्दर्भ हो, पछिल्लो समय इजरायली पक्षले विपिनलाई ‘स्थिति अज्ञात’ रहेको सूचीमा राखेको छ। यो भनेको उनी कहाँ कुन अवस्थामा छन् भन्ने यकिन सूचना इजरायली पक्षलाई पनि छैन भन्ने हो।
विपिनको यो स्थितिले उनको रिहाइका लागि नेपालको तर्फबाट अझ उच्चस्तरको कूटनीतिक पहलको माग गर्छ। तर, हमास–इजरायलबीच युद्धविराम सुरु भएपछि पनि नेपाल परराष्ट्रमन्त्री स्तरको कूटनीतिक पहलभन्दा माथि उठ्न सकेको छैन।
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पछिल्लो समय गरेको पहल भनेको २४ माघमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीसँग गरेको फोनवार्ता हो। हमाससँग इरानको निकट सम्बन्ध रहेकाले विपिनको रिहाइका लागि पहल गरिदिन उनले इरानी समकक्षी अराघ्चीसँग फोनवार्ता गरेकी थिइन्।
परराष्ट्रमन्त्री डा. राणाले युद्धविराम सुरु भएको भोलिपल्टै ७ माघ (१४ जनवरी) मा इजरायल–हमासबीच युद्धविराममा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीसँग कुराकानी गरेकी थिइन्। त्यो बेला उनी उपचारका लागि थाइल्यान्डमा थिइन्। र, उतैबाट फोनमार्फत् विपिनको रिहाइका लागि पहल गरिदिन इजिप्टका समकक्षीलाई आग्रह गरिन्।
६ माघ (१९ जनवरी) देखि कार्यान्वयनमा आएको इजरायल–हमासबीच युद्धविराम सम्झौताको तयारी हुँदै गर्दा १ माघ (१४ जनवरी) मा उनले अर्काे मध्यस्थ मुलुक कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुल्लाजी अल–खुलैफीलाई पनि टेलिफोन गरेकी थिइन्। प्रयोजन उही थियो– विपिनको रिहाइमा सहयोग गरिदिन अनुरोध।
आफ्ना इजरायली समकक्षी गिडोन सारलाई पनि त्यसैदिन (१ माघ) टेलिफोन गरेकी उनले विपिनको रिहाइलाई प्राथमिकतामा पारिदिन आग्रह गरेकी थिइन्।
यी टेलिफोन वार्ताहरूअघि २६ पुस (१० जनवरी) मा इजिप्टकी राजदूत नोहा हमदी अहमद इलगेबाली, २४ पुसमा इजरायली राजदूत सामुलिक एरी बाससँग परराष्ट्र मन्त्रालयमै विपिनको रिहाइलाई प्राथमिकतामा राखेर कुरा गरिदिन उनले अनुरोध गरेकी थिइन्।
गाजा क्षेत्र कानुनी रूपमा इजरायल नियन्त्रित भूभाग भएकाले उसले ‘आतंककारी’ घोषणा गरेको हमाससँग नेपालले प्रत्यक्ष सम्पर्क गर्नसक्ने स्थिति छैन। त्यसैले, मध्यस्थकर्ताको भूमिकामा रहेका कतार, इजिप्ट वा हमासप्रति सहानुभूति राख्ने इरानलाई नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएको छ। तर, परराष्ट्रमन्त्री तहबाट गरिएको पहलको कुनै परिणाम निस्कन सकेको छैन।
पछिल्लो स्थितिले विपिनको रिहाइकालागि सरकार प्रमुखको तहबाटसमेत पहल हुनुपर्ने संकेत गरेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन रिहाइको सन्दर्भमा आफै अग्रसरता लिएर सम्बद्ध मुलुकका समकक्षीहरूलाई अनुरोध गर्ने रुचि देखाएका छैनन्।
Shares

प्रतिक्रिया