राजनीति


एकीकृत समाजवादीको आचारसंहिता- विवाहेतर सम्बन्ध निषेध, अरू केके छन् १३ बुँदामा?

एकीकृत समाजवादीको आचारसंहिता- विवाहेतर सम्बन्ध निषेध, अरू केके छन् १३ बुँदामा?

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) आचारसंहिता जारी गरेको छ। पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन आचासंहिता बनाइएको जनाइएको छ। पार्टीको विधान २०८१ को धारा १३७ अनुसार जारी आचारसंहिता १३ बुँदाको छ।  

नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ। यस्तै बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्न नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ। 

आचार संहिताको पूर्ण पाठ यसप्रकार छ-

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आचार संहिता
१. उद्देश्य: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्तअनुरूप बनाउन आचार संहितामार्फत निर्देश गर्नु उपयुक्त हुने भएकाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विधान २०८१ कोधारा १३७ ले दिएको अधिकार प्रयोग गरी यो आचार संहिता बनाएर जारी गरेको छ।

२. प्रारम्भ: यो आचार संहिता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पारित गरेको दिनदेखि प्रारम्भ हुनेछ।

३. पालनकर्ता: यस आचार संहिताका पालनकर्ता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सबै नेता तथा कार्यकर्ताहरू हुन्।

४. मार्गदर्शक सिद्धान्त: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण हो।

यसले सबै किसिमका शोषण, दमन र उत्पीडन तथा विभेद र असमानताको विरोध गर्छ।

श्रमजीवी वर्गको पक्षपोषण गर्छ, सार्वभौमसत्ता जनतामा रहन्छ भन्ने मान्दछ र सिद्धान्तअनुसार व्यवहार गर्नुपर्नेमा जोड दिन्छ।

५. मूल्य मान्यता: कम्युनिस्ट पार्टीका मूलभूत मूल्य मान्यता हुन्- श्रमको सम्मान, श्रम शोषण नगर्ने, आफैँ पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय अत्यचारको विरोध गर्ने, सबै किसिमका विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक–सामाजिक–सांस्कृतिक रुपान्तरण अर्थात् आमूल परिवर्तन गर्न निरन्तर लागिपर्ने। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सबै नेता तथा कार्यकर्ताले यिनै मूल्य मान्यतालाई अँगालेर व्यवहारमा उतार्न पहल गर्नुपर्दछ।

६. आचारण: हामीले पार्टीको विधानमा नै उल्लेख गरेका छौँ कि पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरूको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्दछ। यो नै हाम्रो आचरणको मूल पक्ष हो। यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौँ।

७. नैतिकताः कम्युनिस्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामूहिकतावाद स्थापित गर्नु हो। यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामुहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु हो। 

हामीले व्यवहारमा यही कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ। परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नुहुँदैन। महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्दछ।

८. व्यवहार: कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु पर्दछ, र उनीहरूको जीवनशैली सादा हुनुपर्दछ भन्ने आम मान्यता रहेको छ। सादा जीवन उच्च विचार भन्ने सूत्र नै छ। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित,
सम्मानजनक र समानताको व्यवहार गर्ने हुनु पर्दछ। बोल्दा अश्लील र अपशव्दको प्रयोग गर्नुहुँदैन। कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन। उनीहरू वर्गीय तथा जातीय भेदभाव नगर्ने, र
छुवाछतजन्य व्यवहार नगर्ने हुनुपर्दछ। उनीहरूको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनु पर्दछ।

उनीहरूले अनैतिक कृयाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन। उनीहरूको आर्थिक आचरण भ्रष्ट हुनुहुँदैन। उनीहरू भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुपर्दछ।

९. जिम्मेवारी वहन: जिम्मेवारी बहन गर्नु पार्टी जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। पार्टीले आफूलाई दिएको जिम्मेवारी बहन गर्नु पार्टीका हरेक सदस्यको परम कर्तव्य हो। आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न पार्टीका हरेक नेता तथा कार्यकर्ता दत्तचित्त भएर लाग्नु पर्दछ। जिम्मेवारु
बहन नगरेका खण्डमा कारबाही विषय बन्नेछ।

१०. जवाफदेहिता: जवाफदेहिता पार्टी जीवनको अर्को महत्त्वपूर्ण पक्ष हो। पार्टीका प्रत्येक नेता तथा कार्यकर्ता आफूले गरेको हरेक कामप्रति जवाफदेही वा उत्तरदायी हुनु पर्दछ। हरेकले आफूले गरेको कामको जिम्मेवारी लिनु पर्दछ। गैर जिम्मेवार हुनु हुँदैन, त्यसो गर्न मिल्दैन।

११. अध्ययनशीलता: अध्ययाशीलता कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो। उनीहरू अध्ययनशील हुन्छन्, हुनुपर्दछ। कुनै पनि विषयमा राम्रो अध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्नुपर्दछ। अध्ययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्दछ।

हामीले अध्ययन गर्नैपर्छ र कुरा राम्ररी बुझ्नैपर्छ। अध्ययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नुहुँदैन।

१२. अनुशासनको पालना: पार्टी विधानको धारा ११९ मा उल्लेख भए बमोजिम अनुशासनको पालना गर्नु र अनुशासन उलङ्घन भएको मानिने भनेर धारा १२० मा उल्लेख गरिएका काम नगर्नु पार्टीका हरेक नेता तथा कार्यकर्ताको कर्तव्य हो। एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा जनवाद र अनुशासनको सन्तुलन हुन्छ, हुन पर्दछ। त्यसैलाई हामी जनवादी केन्द्रीयता पनि भन्दछौँ। हेरक कुराको सीमा हुन्छ। जनवाद र अनुशासनको पनि सीमा हुन्छ। पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइदैन। आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न पाइदैन। पार्टी निर्णय लागू गर्नुपर्दछ। अरूका विचारको सम्मान गर्नु पर्दछ। यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा। यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ।

१३. आचार संहिताको पालना : आचार संहिताको पालना गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ताको कर्तव्य हो। पार्टी विधानको धारा ११७ (२) मा आचार संहिताको पालना गर्नु पार्टीका सम्पूर्ण सदस्यको कर्तव्य हुनेछ भनी निर्देश गरिएकालेअचार संहिताको पालना भएन भने विधानको पनि पालना नभएको ठहर्नेछ र त्यो कार्बाहीको विषय बन्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad