पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुन अनन्तले सहिद मार्गअन्तर्गत घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनले उक्त सडक खण्डका लागि छुट्याइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए।
पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए।
‘चालु आर्थिक वर्ष ०८१/०८२ मा सहिद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो। हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ। सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानकर्षण गराउँछु’, पुनले भने,‘ त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ।’
सडकको अवस्था बिग्रिएका विषयमा सरकारको ध्यान किन नगएको भन्दै पुनले सरकारको ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया