राजनीति


बबरमहलमा पाइप फुटेको घटनाले हाम्रो विकास मोडल असफल छ भन्ने देखियो : सांसद गौतम

बबरमहलमा पाइप फुटेको घटनाले हाम्रो विकास मोडल असफल छ भन्ने देखियो : सांसद गौतम

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:२२, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले चार दिनअघि काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा देशको विकास मोडल कति असफल छ भन्ने प्रस्ट भएको बताएकी छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले मुलुककै प्रशासनिक केन्द्र सिंहदरबार नजिकै यस्तो घटना हुनु पाइप फुट्नुमात्रै नभइ विकासको मोडलको असफलता र समन्वयको  चरम अभावको उदाहरण भएको बताएकी हुन्। 

'चार दिनअघि सिंहदरबारको दक्षिण ढोका नजिक बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमार्गमा परिणत मात्र भएन,' उनले भनिन्,'मुलुककै प्रशासनिक केन्द्रको मुटुको यस्तो घटना हुनु केवल एउटा पाइप फुट्ने विषय मात्र होइन, हाम्रो विकास मोडेलको असफलता र समन्वयको चरम अभावको ज्वलन्त उदाहरण हो।'

उनले सडक विभाग, खानेपानी विभाग र विद्युत प्राधिकरणबीच समन्वय नहुँदा विकासको ढाँचा धरासायी भएको बताइन्। 

'सडक विभागले बाटो बनाउँछ, खानेपानी विभागले ढल खन्छ, विद्युत प्राधिकरणले पोल गाड्छ। तर एकले अर्कासँग समन्वय नगर्ने परिपाटीको फलस्वरूप, बानेश्वर–माइतीघर मुख्य मार्ग अवरुद्ध मात्र भएन कि हाम्रो विकासको ढाँचा नै धरासायी देखियो' उनले भने।  

उनले स्थानीय तह र मन्त्रालयहरूबीच पनि समन्वय गर्ने कानुनको खाँचो देखिएको बताइन्।  'अब यस्तो लापरबाही कहिल्यै नहुने कडा कानुनी दायरासहितको प्रभावकारी संरचना निर्माण प्रणाली आवश्यक छ। दोषारोपण गरेर होइन, समाधान खोजेर अघि बढ्नुपर्छ' उनले भनिन्।  यस्ता घटना दोहोरिन नदिनँ उनले सरकारको ध्यानाकर्षण पनि गराइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad