नेकपा एमालेका सांसद ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेले तयार गरेको बजेटले देश बन्छ भन्नेमा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै एमालेका प्रमुख सचेतकसमेत रहेका महरले प्रधानमन्त्री शाहले वाग्लेप्रति विश्वास नगरेको आरोप लगाए।
‘अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरा प्रधानमन्त्रीलाई पनि विश्वास छैन,’ महरले भने, ‘प्रधानमन्त्रीले घोषणा गरेको देश बनाउने टीममा अर्थमन्त्री नपर्नुले प्रधानमन्त्रीलाई नै यो बजेटप्रति विश्वास नभएको पुष्टि हुन्छ।’
अर्थमन्त्री वाग्लेले संसद्मा निकै दम्भ देखाएको आरोप पनि उनले लगाए।
‘संसद्मा अर्थमन्त्रीज्यूको एटीट्युडले हामीलाई असाध्यै गम्भीर बनाएको छ। न बजेटमा विषयवस्तु छ, न सारमा जनताको पक्षमा देश विकास गर्ने खालको विषयवस्तु छ। न उहाँको स्वभाव शैली ठिक देखिन्छ,’ उनले भने, ‘अर्थमन्त्री वाग्लेलाई विद्वान भनिन्थ्यो। तर, एउटा विद्वानमा हुनुपर्ने स्वभाव शैली उहाँमा देखिएन।’
उनले अर्थमन्त्रीले प्रतिपक्षीहरूलाई अपमान गर्नेगरी संसद्मा प्रस्तुत भइरहेको आरोप लगाए।
उनले बजेटमा करका दरहेरफेर गरेर अर्थमन्त्रीले गम्भीर अपराध गरेको आरोप पनि लगाए। अर्थमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्न पनि उनले माग गरे।
Shares

प्रतिक्रिया