नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिए।
उनले आफ्नै पहलमा नेकपा माओवादी केन्द्रसँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको स्पष्ट पारे। अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको नेता नेपालको भनाई छ।
अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ। झुन्डिएको छ। यो कसको कारणले हो? हाम्रो कारणले हो। यो हेक्का होस् सबैलाई। हामीले पहल गर्यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन। हामी र माओवादी पार्टीले पहल गर्यौँ। दुवैले सल्लाह गर्यौँ। प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो। किनभने मान्छेको पनि बोली बिक्दछ। त्यसपछि बैठकहरु बोलाइयो। बोलाएर साझा वक्तव्य निकाल्यौँ। पत्रकार सम्मेलन गरेर अध्यादेशहरुको बारेमा चुनौति दिँदै यदी यसलाई रोक्ने काम गरेनौ भने संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ। कति कुरा प्रचार गरिँदैन।’
अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताए। एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप पनि लगाए। एमाले पार्टीको रुपमा नचलेको पनि उनले दाबी गरे।
Shares

प्रतिक्रिया