नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रिय राजनीतिमा समकालीन नेताहरूमध्ये आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनेताको हैसियत बनाएको दाबी गरेका छन्।
माओवादी केन्द्र भोजपुर नगर कमिटीको दोस्रो अधिवेशन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधन गर्दै पुनले मुलुक परिवर्तनमा खेलेको भूमिका र नेतृत्व क्षमताका आधारमा प्रचण्ड राजनेता भएको बताए।
१८ महिना सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र राज्य दोहनविरुद्ध उभ्याएका कारण सरकारबाट बाहिरनु परेको भन्दै उनले प्रतिपक्षमा आएपछि प्रचण्ड र पार्टीको लोकप्रियता बढेको दाबी गरे।
आफूहरूले दलाल तथा बिचौलिया वर्गसँग लड्न र राज्य दोहन तथा भ्रष्टाचारविरुद्ध उभिन थालेपछि आमजनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेको दाबी पनि पुनले गरे।
व्यवस्थामा देखिएका सीमा र विकृतिमाथि प्रहार गर्दै आफूहरूले समाजवादतर्फको यात्रा थालेको भन्दै पुनले किसान, मजदुर, देशभक्त र समाजवादी कार्यदिशा बोक्नेसँग मिलेर ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय निर्वाचन एक्लै लड्ने दोहोर्याए।
प्रचण्डको नेतृत्वमा ०८४ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्तिका रुमपा स्थापित गरी समाजवादको आधार तयार पार्ने दाबी पुनले गरे।
उनले प्रचण्ड वरिपरि हजारौँ नेतृत्वको पंक्ति तयार पार्ने भन्दै प्रचण्डले आफू आजीवन नेतृत्वमा रहन्छु नभनेको तर्क गरे। पार्टीको विधान अधिवेशनले कार्यकर्ताको मतबाट नेतृत्वको टिम तयार पार्ने विधि स्पष्ट गरिसकेको पुनले उल्लेख गरे।
विगतमा राजतन्त्रका पक्षमा रहेका कांग्रेस र एमाले गणतन्त्रवादी शक्ति हावी भएपछि आफूहरूतिर आएको तर, समयक्रममा क्रान्तिकारी आन्दोलन केही कमजोर भएपछि माओवादी आन्दोलनलाई हिंसा भन्दै संघीयता र समावेशीताविरुद्ध उभिन थालेको आरोप उनले लगाए।
१२ बुँदे समझदारीबाट सुरु भएको कांग्रेस एमालेसँगको राजनीतिक समझदारीको यात्रा संविधान बनाउँदासम्म रहे पनि संविधान कार्यान्वयनका क्रममा बाटो फरक परेको तर्क उनको छ।
संविधान कार्यान्वयन गर्दै नयाँ सामाजिक र आर्थिक आधार तयार पार्ने कुरामा कांग्रेस र एमालेसँग आफूहरूको बाटो फरक भएको पुनको भनाइ थियो।
‘हामी सुशासन र सामाजिक न्यायको पक्षमा उभियौँ। राज्य व्यवस्था बिचौलिया र दलालले होइन, दलहरूले चलाउने हो भन्यौँ। हामी शोषित उत्पीडिततिर फर्कन खोज्ने उहाँहरू दलाल र बिचौलियातिर फर्कने भएपछि हाम्रो बाटो फरक भयो’, पुनले भने।
उत्पीडित समुदायको हितमा उभिएपछि र दलाल र पुँजीपति वर्षसँग फरक परेपछि माओवादी सरकार छाडेर बाहिर आउने परिस्थिति बनेको दाबी उनको छ।
फरक प्रसंगमा पुनले विचारको संकटका कारण विश्व राजनीतिमा अन्धराष्ट्रवादी लोकप्रियतावाद, धार्मिक राष्ट्रवाद र जातिवादजस्ता लोकप्रियतावादीहरू हावी हुन खोजेको बताए।
नेपालमा पनि विचार, राजनीति, दृष्टिकोण, वर्ग, नीति, विधि र कार्यशैलीबिनाको लोकप्रियतावादी हावा चलेको पुनले उल्लेख गरे।
Shares

प्रतिक्रिया